तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम, २३ भदौ । सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपाध्यक्ष तीर्थमाया खत्वे, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादव र इन्जिनियर खुर्सेद इक्रामसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
तिरहुत गाउँपालिकाको वडा नम्बर ५ स्थित पर्यटन क्षेत्र गेट निर्माण, अधुरो भवन निर्माण रंगरोगन तथा व्यवस्थापनसम्बन्धी कार्य अधुरो छाडेको तथा कुनै कामै नगरी रकम हिनामिना गरेको आइतबार विशेष अदालतमा दायर गरिएको अभियोगपत्रमा उल्लेख छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रमुख प्रशासकीय अधिकृत यादव र इन्जिनियर इक्रामले कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्याङ्कनसहितको नापी किताब तयार गरेका थिए । उनीहरूले कार्य सम्पन्न प्रतिवेदन पेश गरी भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी ११ लाख १९ हजार ९४९ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ ।
तत्कालीन लेखा प्रमुख सोनुकुमार सोनी, योजना अनुगमन समितिका सदस्यहरू दुर्गानन्द यादव, वीरेन्द्रकुमार यादव, भोगनन्द महत्मान यादव र रमानन्द चौधरीविरुद्ध पनि मुद्दा दायर भएको प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उपभोक्ता समितिका अध्यक्ष शिवनाथ चौधरी, सचिव देवनारायण चौधरी र कोषाध्यक्ष चन्द्री देवीलाई पनि आयोगले प्रतिवादी बनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


