जनकपुरधाम, २२ भदौ । जनकपुरधाममा यतिबेला उद्योग वाणिज्य संघको निर्वाचनको सरगर्मी छ । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि यही भदौ २९ गते निर्वाचनको मिति तोकिएको छ । निर्वाचनको मिति नजिकिंदै जाँदा प्रत्यासीहरु मतदातालाई रिझाउन तीब्र प्रचारप्रसारमा जुटेका छन् ।

चुनावका लागि प्रतिद्वन्द्वी मात्र नभई मतदाता तथा समर्थकहरुमा समेत चुनावी सरगर्मी बढेको छ । यतिबेला जनकपुरधाम बजारक्षेत्रमा जताततै उद्योग वाणिज्य संघकै चर्चा परिचर्चा भइरहेको छ । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायत समेत उद्योग वाणिज्य संघकै प्रचारप्रसारले सजिएका छन् ।

आउँदो शनिबार हुने निर्वाचनमा आफूलाई जिताउनका लागि उम्मेदवारहरु आ–आफ्ना प्रतिबद्धतासहित मतदाताका घरदैलोमा लागेका छन् । उद्योग वाणिज्य संघको चुनावले गर्दा यतिबेला जनकपुरधाममा निकै चहलपहल बढेको छ ।

यी सबै चर्चा परिचर्चा र माहौलका बिच संघको सचिव पदमा उम्मेदवारी दिएका सबभन्दा कम उमेरका युवा नरेन्द्र बिक्रम साह (निरज) को पनि बजार क्षेत्रमा व्यापक परिचर्चा छ । उनको चर्चा यसले पनि व्यापक भइरहेको छ किनकी उनी सबभन्दा कान्छो उमेरका सबल युवा व्यवसायी हुन् ।

निरजले व्यवसायीलाई मिस म्याचबाट जोगाउन संघमा व्यवसाय सम्बन्धीको पूर्ण हेल्प डेस्क सञ्चालन गर्नेदेखि उद्योगी, व्यवसायीमैत्री घोषणा पत्र सार्वजनिक गरेपछि मतदाताहरु मतदान गर्नमा उत्साहित देखिएका छन् । सामाजिक सञ्जालबाट पनि निरजलाई भोट माग्नेको ओईरो लागेको छ ।

जो प्रतिष्पर्धी भएपनि सदैव व्यापारी, व्यवसायी तथा उद्योगीको हितमा काम गर्ने सचिव पदका उम्मेदवार निरजलाई मत दिई विजयी बनाउने संघका साधारण सदस्य अर्थात मतदाताहरु बताउँछन् ।

नरेन्द्र नयाँ पुस्ताका लागि उदाहरण हुन् । व्यवसायलाई परिमार्जित गर्दै गरिएको लगानीले समेत उनको व्यवसायीक आकार र आयातनमा फेरबदल ल्याएको छ । व्यवसाय सँगै सामाजिक कार्यमा समेत उनको सक्रियता पाइन्छ । जनकपुरधाम उद्योग वाणिज्य संघमा आबद्ध भई व्यवसायीको हकहित र अधिकारका लागि आवाजलाई बुलन्द बनाउने बाटोमा उनको यात्रा अगाडि बढ्दैछ ।

निरज सफल व्यवसायी मात्र नभएर कुशल संगठक, शिक्षाप्रेमी, समाजसेवीका रुपमा समेत परिचित छन् । २९ वर्षीय युवा व्यापारी निरजले आफूले “स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाँउसम्म व्यापार विस्तार” भन्ने व्यापार संघको नारालाई आत्मसात गरेको बताउँछन् ।

निर्वाचन हुन एक हप्ता मात्र बाँकी रहँदा जनकपुरधाम उद्योग वाणिज्य संघले पनि तयारी तिब्र बनाएको छ ।