जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यही भदौ २९ गते शनिबार हुन लागेको निर्वाचनको अध्यक्ष पदमा त्रिकोणात्मक प्रतिष्पर्धा देखिएको छ ।

निर्वाचनमा अध्यक्ष पदका लागि होटल व्यवसायी सुरेन्द्र भण्डारी, अल्मुनियम व्यवसायी जितेन्द्र प्रसाद साह र सुनचाँदी व्यवसायी मनिषरमण साह प्रतिष्पर्धामा छन् । अध्यक्ष पदका लागि उम्मेदवारी दिएका मध्ये भण्डारी निवर्तमान उपाध्यक्ष हुन् भने जितेन्द्र प्रसाद साह निवर्तमान वरिष्ठ उपाध्यक्ष र मनिषरमण साह वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।

यी तीनवटै उम्मेदवार नेतृत्वमा पुग्न मतदाता रिझाउन अहिले पसल पसल र व्यवसाय प्रतिष्ठानमा मत माग्न पुगिरहेका छन् । तिनै उम्मेदवार एकअर्काभन्दा कम छैनन् । सबैको आ–आफ्नै मतदाता छन् । तर यी मध्ये होटल व्यवसायीको रुपमा परिचित एवम् विभिन्न संघ संस्थासँग आबद्ध रही उद्योगी व्यवसायीहरुको हकहितमा वर्षौदेखि काम गर्दै आएका सुरेन्द्र भण्डारीको नाम बढी चर्चामा देखिएको छ ।

अध्यक्ष पदका उम्मेदवार भण्डारीले विगतमा संघको उपाध्यक्ष बनेर उद्योगी व्यवसायीको हितमा काम गर्न नसकिने देखेर यसपाली अध्यक्षमा उम्मेदवारी दिएको बताए । गत अधिवेशनमा उनी सर्वाधिक मत प्राप्त गरेर उपाध्यक्ष बनेका थिए ।
भण्डारी उद्योगी व्यवसायीले चाहेको जति बेलापनि खोज्दा उनी सहयोगका लागि हरदम पुग्ने गरेका छन् । उनी जउवा संघको कार्यकारिणी सदस्य, सचिव र कार्यवाहक महासचिव हुँदै उपाध्यक्ष पदसम्म पुगेर नेतृत्व सम्हालीसकेका छन् ।

पछिल्लो निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा पनि उनको व्यापक चर्चा र कडा प्रतिस्पर्धा भएपनि उनलाई पराजित घोषणा गरिएपछि विवाद उत्पन्न भएको थियो । संघमा ४ हजार ७६ मत मध्ये अध्यक्ष पदका तिनटै उम्मेदवारसँग एक हजारभन्दा बढी मत रहेको छ । सर्वाधिक मत पाएर उपाध्यक्षसम्म पुगेर काम गरिसकेका भण्डारीले उपाध्यक्ष पदमा सोचे अनुरुप उद्योग व्यवसायको विकासका लागि काम गर्न नसकेकाले आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँछन् ।

उनी भन्छन, ‘उपाध्यक्ष पदमा निर्वाचित भएपछि मैले व्यवसायीको हकहितका लागि धेरै काम गर्ने प्रयास गरेँ । धेरै ठाउँमा बोलेँ । संस्थागत रूपमा काम गर्ने प्रयास गरेँ । तर उपाध्यक्षले चाहेर यहाँ केही काम गर्न सकेनौ अब गर्न नसकेका धेरै कामहरू गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।’

उनले आफूले उठाउन खोजेका एजेण्डाहरू अन्य उम्मेदवारले उठाउन नचाहेका कारण उम्मेदवार बन्नु परेको बताए । लामो समय संघमा आवद्ध रहँदा उल्लेखनिय काम गरेको चर्चा गर्दै विगतमा आफू संघमा रहँदा व्यवसायिक हकहितमा धेरै काम भएको तर हालको नेतृत्वले प्रभावकारी काम गर्न नसकेकाले पनि आफूले उम्मेदवारी दिएको उनले बताए ।

संघको कोषाध्यक्ष, महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गरिसकेका अध्यक्ष पदका अर्का उम्मेदवार जितेन्द्रप्रसाद साहले उद्योगी, व्यवसायीले भोग्दै आएका समस्या र चुनौतीलाई समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उद्देश्यले आफ्नो उम्मेदवारी रहेको बताउँछन् ।

साना, मझौला तथा ठूला व्यवसायमा आफूले प्राप्त गरेको अनुभवलाई उद्योग वाणिज्य संघका लागि प्रयोग गर्ने बताए ।उनले अध्यक्षमा निर्वाचित भए स्थानीय सरकारसँगको सहकार्यमा फुटपाथमा व्यापारिक गतिविधि निरूत्साहन गरी फुटपाथ व्यवसायीहरूलाई वैकल्पिक व्यवस्था मिलाउन समन्वय गर्ने बताए ।

त्यस्तै अर्का उम्मेदवार मनिषले आफू अध्यक्ष भए झोलामा संघको सदस्यता बोकेर हिँड्ने तर कहिल्यै पेशा व्यवसाय सञ्चालन नगर्ने तथा सरकारी निकायमा तिर्नुपर्ने दायित्व नतिरेका व्यवसायीको सदस्यता छानबिन गरी हटाउने बताएका छन् । यसो गर्दामात्रै संघलाई व्यवसायीहरूको विशुद्ध संगठन बनाउन सकिने सहितका एजेण्डा लिएर मतदाता कहाँ उनी पुगिरहेका छन् ।

नयाँ नेतृत्वका लागि उम्मेदवारहरुको दौडधुप जारी रहेको छ । उम्मेदवारहरु आ–आफ्नो पक्षमा मत तान्न अहोरात्र खटिरहेका छन् । व्यापारी तथा जनकपुरधामको उद्योग व्यवसायको हितका लागि आफूले तयार पारेका एजेण्डा व्यापारीहरुलाई बुझाई रहेका छन् ।