जनकपुरधाम, भदौ १८ गते । जनकपुरधाम उद्योग वाणिज्य संघको पछिल्लो कार्यसमितिमा कार्यकारिणी सदस्य रहेका नरेन्द्र बिक्रम साह ‘निरज’ यसपटक व्यवसायीबाटै अनुमोदित भएर संघको सचिव पदमा भीडेका छन् । नरेन्द्रले यसपालि नयाँ पुस्ताको प्रतिनिधित्व गरिरहेका छन् ।

जनकपुरधाममा जय बाबा गिरनारी निर्माण सेवा, बिक्रम सप्लायर्स, प्रदेश मल्टिमिडिया प्रा.लि र संबित स्टोर्स सञ्चालन गरेका नरेन्द्रभन्दा अगाडि जनकपुरधाम उद्योग वाणिज्य संघको कार्यसमितिमा तेस्रो पुस्ताको आगमन भएको थिएन । यसपालिदेखि भने पहिलो र दोस्रो पुस्ताबाट अब नेतृत्व तहमा तेस्रो पुस्ता लम्कन शुरु गरेको छ ।

सानै उमेरदेखि जिम्मेवारी सम्हालेका नरेन्द्रले भदौ २९ गते हुने जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा सचिव पदका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।

नरेन्द्र नयाँ पुस्ताका लागि उदाहरण हुन् । व्यवसायलाई परिमार्जित गर्दै गरिएको लगानीले समेत उनको व्यवसायिक आकार र आयातनमा फेरबदल ल्याएको छ । व्यवसाय सँगै सामाजिक कार्यमा समेत उनको सक्रियता पाइन्छ । जनकपुरधाम उद्योग वाणिज्य संघमा आबद्ध भई व्यवसायीको हकहित र अधिकारका लागि आवाजलाई बुलन्द बनाउने बाटोमा उनको यात्रा अगाडि बढ्दैछ ।

पछिल्लो समय राजनीतिमा अब युवा भन्ने भाष्य स्थापित भएको छ । गएको निर्वाचनबाट युवाहरु सदनमा नै पुगेको देखिन्छ । सामाजिक संस्थामा समेत युवाहरुको नेतृत्वदायी भूमिका देखिन्छ । नरेन्द्र बिक्रम साह ’निरज’ पनि युवाहरुको प्रतिनिधित्व गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएका छन् ।

उद्यम, कृषि र पर्यटनलाई आत्मसात् गर्दै यस क्षेत्रमा युवाहरुलाई प्रवेश गराउने उद्देश्य निरजको छ । उनी भन्छन्, “पछिल्लो समय युवामा वितृष्णा आएको छ । सम्भावना हुँदाहुँदै पनि देश छाडेर परदेश गएका छन् । युवालाई स्वरोजगार गराउने उद्देश्य स्वरुप आफू लागिपरेको छु । हामी कुरा होइन काम गर्नका लागि आएका हौं । निर्वाचित भइसकेपछि यहाँका व्यवसायीको हितबमोजिम नै काम गर्छौं । यसमा हामी एकजुट भएर अगाडि बढ्छौं । संघ अब युवाको नेतृत्वमा अगाडि बढ्दैछ ।”

उद्योग वाणिज्य संघको साख जोगाउन र सम्पूर्ण व्यवसायीलाई एकीकृत गराई उनीहरुको समस्यालाई समाधान गर्न नरेन्द्रको उम्मेदवारी हो । उनले यसअघि नै उद्योग वाणिज्य संघलाई नयाँ स्वरुप दिन खोजे । नयाँ पुस्ताको नयाँ सोचमा उद्योग वाणिज्य संघ चल्नुपर्छ भन्ने धारणा उनको छ । आर्थिक मन्दीले यस क्षेत्रका व्यवसायीले भोग्नुपरेका समस्यालाई समाधान गर्न पहल गर्ने उद्देश्यसहित नरेन्द्र अगाडि बढिरहेका छन् । उनको एउटै ध्येय “सवल, सक्षम, सुदृढ र आत्मनिर्भर उद्योग वाणिज्य संघ” हो ।

निरज यस क्षेत्रकै सफल युवा व्यवसायीमध्ये एक हुन् । लामो समयदेखि जनकपुरधाममा व्यवसाय गर्दै आएका उनले आफूले उद्योगी व्यवसायीको हकहित, संरक्षण र मर्यादित व्यवसायमा जोड दिँदै आएको बताउँछन् । निरजले सचिव पदका लागि आफू योग्य भएकोले यहाँका व्यवसायीहरुले आफूलाई विजयी बनाउनेमा विश्वस्त छन् ।

निरजले आफू सफा शहर, पर्यटन विकास र समृद्ध बजारको नीतिलाई आत्मसात गर्दै स्वदेशमै रोजगारीका लागि व्यापार व्यवसायमा यूवाशक्तिलाई प्रोत्साहन गर्नुपर्ने आफ्नो पहिलो प्राथमिकतामा रहेको सुनाए । उनले आफू निर्वाचित भए धनुषा जिल्लालाई औद्योगिक करिडोर बनाउनका लागि पहल गर्नुका साथै तेस्रो मुलूकमा आयात निर्यातका लागि बन्दरगाह निर्माण गर्नसमेत पहल गर्ने प्रतिबद्धता जनाए । आफूले व्यवसायीको हरेक समस्यालाई बुझ्दै समाधानका लागि हरसम्भव पहल गर्ने दृढतासमेत निरजले जनाएका छन् ।

उनले आफ्नो पहलमा धनुषा जिल्लामा ७७ वटा व्यवसायीक कम्पनीहरु दर्ता गराएको र त्यसमध्ये २० वटा एकदम राम्रो अवस्थामा सञ्चालमा रहेको बताए ।

सचिव पदमा उम्मेदवारी दिएका निरजले संघमा पहिलो कार्यकाल सदस्यमा बसेर काम गरेको अनुभव आफूसँग रहेको बताए । बिसं २०७६ सालमा जनकपुरधाम उद्योग वाणिज्य संघमा प्रवेश गरेका निरजले व्यापार संघले आयोजना गरेको विभिन्न व्यापारीक मेलाहरुमा लगातार सहभागिता जनाएका छन् ।

निरजले व्यापार संघको विभिन्न कार्यक्रमहरुमा कार्यक्रम संयोजकको रुपमा आफ्नो सफल भूमिका निर्वाह गरिसकेका छन् । उनले आफूले विभिन्न उपसमिती संयोजक, सदस्यलगायतको भूमिकामा जिम्मेवारीपूर्वक काम गरेको बताए ।

उनले यहाँका विभिन्न संघसंस्थामा जिम्मेवारीपूर्वक काम गरेको अनुभव आफूसंग रहेको बताउँदै संघको सचिवमा आफू पूर्ण योग्य रहेकाले जिम्मेवारी पाएमा आफ्नो अनुभव र क्षमतालाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

निरज सफल व्यवसायी मात्र नभएर कुशल संगठक, शिक्षाप्रेमी, समाजसेवीका रुपमा समेत परिचित छन् । २९ वर्षीय युवा व्यापारी निरजले आफूले “स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाँउसम्म व्यापार विस्तार” भन्ने व्यापार संघको नारालाई आत्मसात गरेको बताउँछन् ।