जनकपुरधाम, भदौ १८ गते । यही भदौ २९ गते शनिबारका दिन हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका जितेन्द्रप्रसाद साहले उद्योगी, व्यवसायीले भोग्दै आएका समस्या र चुनौतीलाई समाधान गर्न आफूले नेतृत्वदायी भूमिका निभाउने दावी गरेका छन् ।

‘टुडेआवाज’सँग कुराकानी गर्दै साहले साना, मझौला तथा ठूला व्यवसायमा आफूले प्राप्त गरेको अनुभवलाई उद्योग वाणिज्य संघका लागि प्रयोग गर्ने बताएका हुन् ।

उनले अध्यक्षमा निर्वाचित भए स्थानीय सरकारसँगको सहकार्यमा फुटपाथमा व्यापारिक गतिविधि निरूत्साहन गरी फुटपाथ व्यवसायीहरूलाई वैकल्पिक व्यवस्था मिलाउन समन्वय गर्ने दावीसमेत गरे ।

बजार क्षेत्रमा पार्किङको वैज्ञानिक व्यवस्थापन गर्ने, आर्थिक मन्दीको असर परेको व्यवसाय क्षेत्रमा कर घटाउन पहल गर्ने, घरभाडा कम गर्न घरबेटीसँग सहकार्य र समन्वय गर्ने, पसलहरूको होर्डिङ बोर्डको कर पूर्ण रूपमा खारेज गर्न पहल गर्ने लगायतका एजेण्डामा काम गर्ने जितेन्द्रले जिकिर गरे ।

व्यवसायिक सुरक्षाको प्रत्याभूति र सामाजिक एकताका लागि आफूले उम्मेदवारी दिएको उनले बताएका छन् । संघको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपछि जितेन्द्रले व्यवसायिक तालिम, रोजगारको सुरक्षा र सीप विकास योजनाका लागि आफूले उम्मेदवारी दिएको बताए ।

संघमा आफूले विगतदेखि गरेका योगदान नै आफ्नो जितको मुख्य कारण रहेको उनको भनाइ छ । नैतिकवान एवं सक्षम नेतृत्व, बजार व्यवस्थापन र विस्तार, उद्योग, व्यापार, कृषि र पर्यटनमा आधारित स्थानीय आर्थिक विकासलाई जोड दिने प्रमुख उद्देश्य रहेको उनको धारणा छ ।

आफूविरुद्व गलत अफवाह फैलाउने काम भइरहेको बताउँदै जितेन्द्रले भने, ‘मैले कसैलाई समर्थन गरिदिन्छु । अब चुनावी प्रतिस्पर्धामा म छुइन जस्ता हल्ला फैलाउने कामहरु भइरहेका छन् । अन्य दुईजना उम्मेदवारहरु मेरो अगाडि कलिलै हुन् ।’

उनले यसपाली कुनैपनि पार्टी र नेताले नभई आफू व्यापारीको इच्छाले चुनाव जित्ने दावी गरे ।

‘मैले गत चुनावमा पाएको १ हजार ७ सय मत सबै जनकपुरधाम नगरभित्रकै मत हो, ‘उनले भने, ‘म यसपाली त्यही मतले चुनाव जित्दैछु । कुनैपनि नेता, पावर र पैसा यसपालि काम लाग्दैन ।’

जितेन्द्र यसअघि जनकपुरधाम उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष भइसकेका छन् ।