अध्यक्ष पदका उम्मेदवार भण्डारी के भन्छन् ?

जनकपुरधाम, भदौ १८ गते । जनकपुरधाम उद्योग वाणिज्य संघको यही भदौ २९ गते हुने निर्वाचनको सरगर्मी चढेको छ । संघको चुनावी सरगर्मीको रापले उम्मेदवारसँगै आम उद्योगी व्यवसायी एवं व्यापारीलाई छोइसकेको छ ।
नयाँ नेतृत्वका लागि उम्मेदवारहरुको दौडधुप शुरु भइसकेको छ । विगतका वर्षहरुमा झैं घरदैलो अभियान शुरु भइसकेको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि तीनजनाले उम्मेदवारी दिएका छन् । निवर्तमान वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह, निवर्तमान उपाध्यक्ष सुरेन्द्र भण्डारी र वर्तमान वरिष्ठ उपाध्यक्ष मनिषरमण साह अध्यक्षको प्रतिस्पर्धामा छन् ।
यसैबिच, अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र भण्डारीले विगतमा संघको उपाध्यक्ष बनेर उद्योगी व्यवसायीको हितमा काम गर्न नसकिने देखेर यसपाली अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । गत अधिवेशनमा उनी सर्वाधिक मत प्राप्त गरेर उपाध्यक्ष बनेका थिए ।
‘टुडेआवाज’सँग कुराकानी गर्दै उनले भने, ‘उपाध्यक्ष पदमा निर्वाचित भएपछि मैले व्यवसायीको हकहितका लागि धेरै काम गर्ने प्रयास गरेँ । धेरै ठाउँमा बोलेँ । संस्थागत रूपमा काम गर्ने प्रयास गरेँ । तर उपाध्यक्षले चाहेर यहाँ केही गर्न सकिने रहेनछ,’ सुरेन्द्रले भने, ‘आफूले चाहेर पनि गर्न नसकेका धेरै कामहरू गर्न मैले अध्यक्ष पदमै उम्मेदवारी दिनुपर्यो ।’
उनले आफूले उठाउन खोजेका एजेण्डाहरू अन्य उम्मेदवारले उठाउन नचाहेका कारण उम्मेदवार बन्नु परेको बताए । लामो समय संघमा आवद्ध रहँदा उल्लेखनिय काम गरेको चर्चा गर्दै विगतमा आफू संघमा रहँदा व्यवसायिक हकहितमा धेरै काम भएको तर हालको नेतृत्वले प्रभावकारी काम गर्न नसकेकाले पनि आफूले उम्मेदवारी दिएको उनले बताए ।
उनले आफूलाई नेतृत्वमा रहेर उद्योग, व्यापार र व्यवसाय क्षेत्रको विकास अघि बढाउन उम्मेदवारी दिएको बताउँदै संघको गरिमा उच्च राख्न भूमिका खेल्ने दाबी गरेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघमा अहिले ४ हजार ७६ सदस्य मतदाता छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


