जनकपुरधाम, भदौ १८ गते । यही भदौ २९ गते शनिबार हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार मनिषरमण साहले आफू अध्यक्ष भए झोलामा संघको सदस्यता बोकेर हिँड्ने तर कहिल्यै पेशा व्यवसाय सञ्चालन नगर्ने दावी गरेका छन् ।

साहले ‘टुडेआवाज’सँग कुराकानी गर्दै सरकारी निकायमा तिर्नुपर्ने दायित्व नतिरेका व्यवसायीको सदस्यता छानबिन गरी हटाउने जिकिर गर्दै यसो गर्दामात्रै संघलाई व्यवसायीहरूको विशुद्ध संगठन बनाउन सकिने बताएका हुन् ।

मनिषले संघमा आबद्ध व्यवसायीहरूको सुरक्षाका लागि बीमा गर्ने, व्यवसाय कर, घरबाहल कर तथा विज्ञापन करको समस्यालाई नीतिगत रूपमा समाधान गर्ने, बैंकहरूले मनोमानी ढंगले बढाउने ब्याजदरमा एकरूपता बनाउन दबाब दिने एजेण्डाहरू बोकेका छन् ।

मनिषले संघमा स्थानीय तहलाई समेत जोड्ने गरी काम गर्ने, होटल तथा रेष्टुरेन्टहरू चौबिसै घण्टा सञ्चालन हुन दिन पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् ।

’व्यवसायिक एकता, पूर्वाधारको व्यवस्था, प्रष्ट नीति नियम एवं व्यवसायमैत्री वातावरणमा नै दिगो आर्थिक सम्भव’ भन्ने नाराका साथ आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको मनिषले बताएका छन् ।

उनले नवीन प्रविधियुक्त सुदृढ सचिवालय व्यवस्थापन गर्ने, साना मझौला व्यवसायी तथा उद्योगहरुको लागि सर्वसुलभ कर्जा उपलब्ध गराउने, हाल संघको सदस्य संख्यालाई दोब्बर बनाउने, व्यवसायीको सटर भाडाका विषयमा घरबेटी र व्यवसायी बिच सम्बन्ध राम्रो बनाउन संघले पहल गर्ने, आन्तरिक राजश्व कार्यालय, घरेलु कार्यालय, जिल्ला प्रशासन, स्थानीय सरकारसँग समन्वय गरी पारस्परिक सहयोगको वातावरण सृजना गर्ने, आन्तरिक धार्मिक पर्यटनलाई बढावा दिने लगायतका एजेण्डा रहेको मनिषले बताए ।

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि तीनजनाले उम्मेदवारी दिएका छन् । निवर्तमान वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह, निवर्तमान उपाध्यक्ष सुरेन्द्र भण्डारी र वर्तमान वरिष्ठ उपाध्यक्ष मनिषरमण साह अध्यक्षको प्रतिस्पर्धामा छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघमा अहिले ४ हजार ७६ सदस्य मतदाता रहेका छन् ।