जनकपुरधाम, भदौ १८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्यु प्रकरणमा आफूलाई फसाउन खोजिएको एक शिक्षकले दावी गरेका छन् ।

रामगोपालपुर नगरपालिका वडा नम्बर–१ स्थित श्री उच्च मावि बसपीट्टी बसन्तपुरका शिक्षक संजीवकुमार झाले मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी सो घटनामा आफ्नो कुनै संलग्नता नरहेपनि आफूलाई फसाउने गरी चरित्रहत्या गरिएको दावी गरेका हुन् ।

वडाध्यक्ष यादवको गत भदौ ८ गते मोटरसाइकल दुर्घटनामा परि मृत्यु भइसकेको अवस्थामा शव फेला परेको थियो । शुरुमा यादवको मृत्यु दुर्घटनाबाटै भएको भनिएपनि पछि हत्या गरिएको आशंका स्थानीय तथा प्रहरीले गरेपछि यो घटना तातिएको थियो । घटना भएको दिन शिक्षक झापनि मृतक यादवसंगै रहेकाले वडाध्यक्ष यादवको हत्यामा उनको संलग्नता हुन सक्ने नेकपा माओवादी केन्द्रका नेताहरुले आरोप लगाएका थिए ।

शिक्षक झाले भने, ‘म र वडाध्यक्ष यादव घनिष्ठ मित्र थियौं । घटनाको भएको दिन उनीसंग राति ८ बजे  छुटिएपछि म आफ्नो घर फर्किसकें । त्यसपछि मुकेश कहाँ गयो त्यो मलाई थाहा भएन ।’

उनले मुकेशको मृत्यु भएको विषयमा घटना भएको भोलीपल्ट आफूलाई विद्यालय पुगिसकेपछि मात्रै जानकारी प्राप्त भएको बताए ।

झाले माओवादी केन्द्रका नेताहरुले पुरानो रिसिइवी साध्ने उद्देश्यले बिना अनुसन्धान तथा बिना प्रमाण आफूलाई फसाउन खोजेको दावी गरे । उनले यस घटनामा आफ्नो कुनैपनि प्रकारको संलग्नता रहेको प्रमाणित भए आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताए ।

शिक्षक झाले यस घटनामा आफ्नो चरित्रहत्या हुनेगरि प्रचारबाजी गरिएकोले सम्बन्धित निकायलाई सुक्ष्म अनुसन्धान गर्न माग गर्दै शिक्षक महासंघसँग पनि यसमा चासो देखाउन आग्रह गरेका छन् ।