जनकपुरधाम, १६ भदौ । जनकपुरधामको एक होटेलमा एकजना युवक मृत अवस्थामा फेला परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–२ जनकचोस्थित होटेल राज घराना एण्ड फ्यामली रेष्टुरेन्टमा कार्यरत एक कर्मचारी होटेलकै शौचालयमा मृत अवस्थामा फेला परेका हुन् ।

सो होटेलमा कार्यरत महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर–१ बस्ने ३५ वर्षीय राजकुमार श्रेष्ठ गत शुक्रबार विहान करिब ९ बजेको समयमा शौचालयमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

डीएसपी अवाले मृत अवस्थामा फेला परेका श्रेष्ठको टाउकोमा चोट देखिएकोले घटना शंकास्पद रहेको बताए ।

उनले घटनाबारे अनुसन्धान भइरहेको बताए ।