जनकपुरधाम, १५ भदौ । धनुषामा बेल्चा प्रहार गरी एक कर्मचारीको हत्या गरिएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा कार्यरत एक कर्मचारीको हत्या भएको हो ।

हत्या हुनेमा सिरहा नगरपालिका–३ मखनाहा निवासी ४० वर्षीय राकेश वर्मा हुन् । उनी निगममा ज्यालादारी कर्मचारीको रूपमा कार्यरत थिए ।

घटना शुक्रबार बिहान करिब साढे १० बजे भएको हो । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार आयल निगमको एक कोठामा विवाद हुँदा राकेश वर्माको हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले घटनामा संलग्न प्रकाश यादव नामक व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार कोठाभित्र दुबैजनाबीच लडाइँ भएको थियो । एउटै कोठमा एकआपसमा विवाद हुँदा बर्मामाथि यादवले बेल्चा प्रहार गर्दा मृत्यु भएको डीएसपी अवाले जानकारी दिए ।