सिरहाबाट अवैध सुनचाँदीका गरगहनासहित एक युवक पक्राउ

जनकपुरधाम, भदौ २ गते । सिरहा प्रहरीले अवैध सुनचाँदीका गरगहनासहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको आरूबोटे नगरपालिका–५ बाजघरा घर भई हाल झापाको दमकमा डेरा गरी बस्ने २८ वर्षीय रोशन बराईली रहेका छन् । प्रहरीले उनको साथमा रहेको झोलाबाट सुनचाँदीका विभिन्न गरगहना बरामद गरेको हो ।
बराईलीलाई सिरहा नगरपालिका–७ महिसोथाबाट प्र १–०१–०१४प ४६२५ नम्बरको मोटरसाइकलमा सवार भई गइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्ति सापकोटाले जानकारी दिए ।
पक्राउ परेका उनको साथबाट हरियो पोतेमा जडित सुनको १८ थान माला, रातो पोतेमा जडित ३० थान माला, सेतो मोती मालामा जडित ५ थान माला, खुला चन्द्रमा ६ थान, पोतेमा जडित ८ थान चक्र र १ थान मंगलसुत्र बरामद गरिएको हो । बरामद सुनको तौल २६.५ ग्राम रहेको र त्यसको मूल्य ३ लाख ३५ हजार २२८ रुपैयाँ आँकलन गरिएको डीएसपी सापकोटाले बताए ।
प्रहरीले सुनका ६४ थान बाला, ११ थान ब्रासलेट, २९ थान चुरा र १ थान रड समेत बरामद गरेको छ । जसको तौल २ किलो ६५२.४ ग्राम छ । यसको अनुमानित मूल्य २ लाख १७ हजार ६८० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


