जनकपुरधाम, भदौ २ गते । तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनद्वारा षडयन्त्रपूर्वक गर्न खोजिएको संविधान संशोधनले समावेशी लोकतन्त्रलाई समाप्त गर्न खोजिएको भन्दै आफ्ना कार्यकर्ताहरुलाई सम्भावित संघर्षको निमित्त तयार रह्न निर्देशन दिएको छ ।

पार्टीको केन्द्रिय कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा तमलोपाका नेताहरुले यस्तो निर्देशन दिएका हुन् ।

प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै पार्टी अध्यक्ष वृषेशचन्द्र लालले नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनद्वारा उल्लेखित संविधान संशोधनको अन्तर्य अग्रगामी परिवर्तन र जनताले संविधानमा खोजेको संशोधन नभई समावेशी लोकतन्त्रको अहिलेको स्थितिलाई पनि पछाडि धकेल्न र प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्वको माध्यमबाट सिमान्तिकरणमा रहेका मधेशी, थारु, आदिवासी–जनजाति, दलित आदिको सहभागिता समाप्त गर्न लक्षित रहेको ठोकुवा गरे । उनले यस पश्चगामी षडयन्त्रविरुद्धको संघर्षको निमित्त तयार रहन आग्रह गरे ।

“नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन संविधानको कस्तो संशोधन चाहेको हो प्रष्टसंग आधिकारिक रुपमा अक्षरमा किन राख्दैन किनभने तिनको भित्री मनसुबा संविधानको प्रतिगामी संशोधन हो । बडो सुनियोजित तरीकाबाट जनतामा भ्रम छरिंदै छ र त्यसको निमित्त जनताको आँखामा छारो हाल्ने वातावरण बनाउन विदूषकहरु खटाइएको” अध्यक्ष लालको आरोप थियो ।

तमलोपाका बरिष्ठ नेता डा. विजयकुमार सिंहले प्रतिनिधि सभाको निर्वाचन पूर्ण समानुपातिक पद्धतिबाट हुनुपर्ने र निर्वाचन क्षेत्र प्रदेशहरुलाई तोक्नु पर्ने बताउँदै काँग्रेस–एमाले गठबन्धन प्रतिनिधिसभाबाट समानुपातिक प्रतिनिधित्व नै हटाउन खोजेको, संघीय संसदमा प्रदेश र स्थानीय तहको प्रतिनिधि सदन राष्ट्रिय सभाको मूल भूमिका नै समाप्त गर्न चाहेको र स्थायित्वको नाममा काँग्रेस र एमालेको ओलीगार्की अल्पतन्त्र कायम गर्न खोजेको बताए ।

सिंहले संसदमा प्रतिनिधित्व गर्ने मधेश केन्द्रित भनिने दलहरु यस महत्वपूर्ण विषयमा चुप्पीका साथ सत्ता भोग गर्नुमा लागेको देख्दा दुःख लागेको भन्दै तराई–मधेश लोकतान्त्रिक पार्टी यसको विरुद्ध खबरदारी र आवश्यक परे संघर्ष गर्नुबाट पछि नहट्ने जिकिरसमेत गरे ।