मधेशमा माओवादी, नेकपा एस, नागरिक उन्मुक्ति र संघीय समाजवादीका ६ मन्त्री बर्खास्त

जनकपुरधाम, २२ असार । जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकारले आफ्नो सत्ता जोगाउन चार वटा दलका ६ जना मन्त्रीलाई बर्खास्त गरेको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिनुअघि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री सिंहले नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका अर्थमन्त्री भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीबाट मन्त्री बनेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने र उर्जा, सिँचाई तथा खानेपानी मन्त्री बेची लुंगेली, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेकी श्रम तथा यातायात मन्त्री उर्मिलादेवी सिंह चौधरी र संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी गृह, सञ्चार तथा कानुनमन्त्री बिमला अन्सारीलाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री सिंहले उनीहरूलाई बर्खास्तसहित मन्त्रिपरिषद पुनर्गठनको पत्र प्रदेश प्रमुख कार्यालयलाई पठाएका छन् । मुख्यमन्त्री सिंहले एमालेका चार मन्त्री र जनमतका एक मन्त्रीलाई यथावत राखेका छन् ।
२५ जेठमा नेकपा एमालेसहित ६ दलको समर्थनमा सिंह मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनले मधेश प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको समिकरण भएपछि मधेशमा जनमतको सरकारलाई नै निरन्तरता दिन दुई दल शुक्रबार साँझ सहमत भएको थियो । त्यस अनुसार मधेशमा कांग्रेसलाई प्रवेश गराउन र विश्वासको मत दिन मुख्यमन्त्रीले माओवादी केन्द्रसहित चार दललाई सरकारबाट हटाएका हुन् । कांग्रेसले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने भएको छ ।
मुख्यमन्त्री सिंहले पत्रकार सम्मेलनको आयोजना गरी अहिलेसम्म सरकारमा सहभागी भएका ४ वटै दललाई धन्यवाद ज्ञापन गरेका हुन् ।
पत्रकार सम्मेलनमार्फत उनले भने, ‘अहिलेसम्म मलाई सबैलाई सहयोग गर्नु भएको छ, त्यसमा कुनै शङ्का छैन । तर राजनीतिक परिस्थितिका कारण समीकरण परिवर्तन गर्नु परेको छ । त्यही कारण यो अवस्था सृजना भएको हो ।’
शनिबार विश्वासको मत लिएपछि आइतबार कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री सिंहको तयारी छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


