मधेशमा मनाइयो आद्रा महोत्सव

जनकपुरधाम, १९ असार । तराई-मधेश लोकतान्त्रिक पार्टीले मधेशको पर्व आद्रा महोत्सव मनाएको छ ।
तमलोपाको महिला संगठन तराई-मधेश महिला संघको आयोजनामा बुधबार जनकपुरधामको कभर्ड हलस्थित राजर्षी जनक विद्यालयको प्राङ्गणमा आद्रा महोत्सव उत्साहका साथ मनाइएको हो ।
मधेशका किसानहरू वर्षाको स्वागतमा आद्रा नक्षत्रभरि १५ दिनसम्म आफूलाई पायक परेको दिनमा आद्रा पूजा गरी वर्षा र धानको राम्रो उब्जनीको निमित्त कुल देवताको पूजा गर्छन् । यो पर्व हरेक किसान परिवारको घरमा हुन्छ । यसमा कुल देवतालाई खीर, पुरी, आँप, जामुन आदि चढाइन्छ । तराई-मधेश लोकतान्त्रिक पार्टीले आद्रा महोत्सव किसानहरुको दिवसको रुपमा मनाएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस, एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी लगायतका राजनीतिक दलहरुबाट पनि सहभागीहरु थिए । महोत्सवमा बिन्दु ठाकुर, पूनम झा, भारती झालगायतकाले मिथिला मधेशका लोकगीतहरु प्रस्तुत गरेका थिए ।
आद्रा महोत्सवमा तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले देशमा विकसित नयाँ परिस्थितिमाथि टिप्पणी गर्दै देशमा कसैको शासन भएपनि आफूहरूलाई कुनै मतलब नरहेको र कसैले समावेशी समानुपातिक प्रतिनिधित्वको प्रावधान खोस्न खोजे चुप लागेर बस्न नसक्ने भन्दै त्यस्तो स्थितिमा देश पुनः द्न्द्मा फस्ने चेतावनी दिए ।
कार्यक्रममा तराई-मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता डा. विजय कुमार सिंहले आद्रा पूजाको महत्वमाथि प्रकाश पारेका थिए ।
उनले काँग्रेस र एमाले बीचको सम्झौता सत्ता र शक्तिको गठबन्धन रहेको टिप्पणी गर्दै भने, ‘यी दुई पार्टीबीच भएको सम्झौतामा संविधान संशोधन बारे जे जति भनिएको छ, त्यसबाट यी मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी जनजाति विरुद्ध छन् भन्ने एक पटक फेरि स्पष्ट भएर आएको छ ।’ उनले सबैलाई सचेत हुनसमेत आग्रह गरे ।
कार्यक्रममा महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप पाण्डे, एकीकृत समाजवादीका नेता शीतल झा, नेपाल लोकतान्त्रिक पार्टीका कृष्णचन्द्र साह, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, समाजसेवी प्रकाशचन्द्र साह, बीभा ठाकुर, पूर्वउपमेयर रेणु झा, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१३ का वडाध्यक्ष जीतू राउत लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


