जनकपुरधाम, १८ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विपतजन्य पूर्व तयारीमा तीनै तहका सरकारबीच अधिकतम सहकार्य हुन जरुरी रहेको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा मंगलवार जनकपुरधाममा आयोजित विपत व्यवस्थापनका लागि अन्तर सरकार सुदृढीकरण विषयक अन्तरक्रिया कार्यक्रमको जनकपुरधाममा उद्घाटन गर्दै विपतबाट जोगिन थोरै लगानीमा पूर्व तयारी गरिए ठूलो क्षतिको जोखिम कम गर्न सकिने बताएका छन् ।

मधेश प्रदेश सरकार प्राकृतिक विपतको सामना गर्न साधन र श्रोतले भ्याएसम्मका सबै तयारी गर्न तयार रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री सिंहले प्राकृतिक विपतमा परेर घर गुमाएकाहरूलाई राहतस्वरुप १ लाख गरिबहरूलाई ३ लाखको घर बिमा गरिदिने गरि प्रदेश सरकारले रकम विनियोजन गरेको बताएका छन् ।

मधेश प्रदेशका अर्थमन्त्री भरत प्रसाद साहले विपद्पछि पीडितलाई दिने राहत व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन् ।

कार्यक्रममा मधेश प्रदेशका ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू, विभिन्न पालिकाका प्रमुखहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता रहेको थियो ।