जनकपुरधाम, १५ असार । जनकपुरधाममा आयोजित एक कार्यक्रममा वक्ताहरुले चुरे भाबर क्षेत्रको संरक्षण गरी त्यहाँ भइरहेको विनाश रोक्न माग गरेका छन् ।

भ्वाइस अफ जनकपुर समूहले ‘जल संकटः चुरे संरक्षण र स्थानीय जिम्मेदारी’ विषयक गोष्ठी कार्यक्रममा विज्ञ तथा सहभागीहरुले तराईमा बढ्दै गइरहेको पेयजल र सिंचाईको निमित्त पानीको संकट रोक्न पानीको रिचार्जिंगको प्राकृतिक प्रक्रियालाई पूर्ववत फर्काउन चुरे भाबर क्षेत्रको संरक्षण गरी त्यहाँ भइरहेको विनाश रोक्न माग गरेका हुन् ।

उक्त कार्यक्रममा तराई-मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता डा. विजय कुमार सिंहले कार्यपत्र प्रस्तुत गर्दै चुरे भाबर क्षेत्रको संरक्षणले मात्र पानीको प्राकृतिक रिचार्जिंग हुन सक्ने हुँदा चुरे भाबर क्षेत्रको संरक्षण आवश्यक भएको बताए । उनले वन कटानी, अतिक्रमित बासोबास र शहरीकरण तथा प्राकृतिक स्रोतको अति दोहनले गर्दा यस्तो स्थिति हुन आएको बताए । डा. सिंहले तत्काल संघ, प्रदेश र स्थानीय तहले समन्वित कार्ययोजना र त्यसको कार्यान्वयन आगाडि नल्याए स्थिति विकराल हुने चेतावनी दिएका थिए ।

कार्यक्रममा विज्ञ ई. रत्नेश्वर लाल कर्णले आफ्नो प्रस्तुतिमा पानी रिचार्जिंगको सम्पूर्ण प्रक्रिया, पानीको स्थिति र गर्न सकिने उपायहरुबारे विस्तारपूर्वक प्रकाश पारेका थिए । त्यस्तै चुरेभाबर क्षेत्रमा कार्यरत नागदेव यादवले आफ्नो प्रस्तुतिमा चुरेभाबर क्षेत्रको महत्व र स्थितिबारे बोल्दै त्यस क्षेत्रमा भइरहेका कार्यहरु र त्यसका उपलब्धिहरु सहभागी समक्ष राखेका थिए ।

एकीकृत समाजवादी पार्टीका नेता शितल झा र ई. प्रकाश चन्द्र साहले समेत आ-आफ्नो विचार राखेका थिए । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका मेयरहरुका साथै सबै पार्टीबाट राजनीतिकर्मीहरु उपस्थित भएका थिए ।

उक्त कार्यक्रमको अन्तमा आफ्नो विचार राख्दै तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले चुरेभाबर क्षेत्रमा विभिन्न परियोजनाहरु चलाइएको भए पनि विनासको क्रम नै बढ्दै गएको एवं वन कटानी, अतिक्रमित वसोवास र शहरीकरण तथा प्राकृतिक स्रोतको अति दोहन रत्ती पनि कम नभएको गुनासो गरेका थिए ।

अध्यक्ष लालले सामुदायिक वनको अवधारणा विफल भएको र यसले जतातै वनविनाश नै बढेकोले खारिज गरिनु पर्ने र वन कटानी, अतिक्रमित बसोबास रोक्न चुरेभाबर क्षेत्रलाई राज्य संरक्षित विशेष क्षेत्र बनाउन पर्ने माग गरेका थिए ।

भ्वाइस अफ जनकपुर जनतासंग सम्बन्धित सबै प्रकारका ज्वलन्त मुद्दाहरुबारे छलफल गरी सामूहिक रुपमा विचार व्यक्त गर्न हालै गठित समूह हो । यस समूहमा तमलोपाका वृषेशचन्द्र लाल र डा. विजय कुमार सिंह, नेपाली काँग्रेसका नेता र प्रदेश सभा सदस्य रामसरोज यादव, नेकपा एकीकृत समाजवादीका नेता शीतल झा, वामपन्थी वुद्धजीवी रोशन जनकपुरी लगायतकाहरु आवद्ध छन् ।