जनकपुरधाम, १५ असार । सुरक्षित आप्रवासन परियोजना (सामी)ले जिल्ला तहमा पत्रकारहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एकदिने अन्तरक्रिया गरेको छ ।

परियोजनाको परिचय र उपलब्धीको बारेमा पत्रकारलाई जानकारी गराउने र परियोजनाको आगामी योजनाका लागि पत्रकाहरुको पृष्ठपोषण लिने उद्धेश्यले उक्त अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा परियोजना अन्तरगत भएको क्रियाकलाप र उपलब्धीको बारेमा प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रमको बारेमा जानकारी गराउँदै परियोजना संयोजक सौरभ कर्णले आवश्यक चेतनाको अभावमा बैदेशिक रोजगारमा जानेहरु ठगिदै आएको भन्दै सुरक्षित बैदेशिक रोजगारमा कसरी जाने भन्ने बिषयमा सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्र (सूचना केन्द्र) मार्फत सहयोगका साथै आवश्यक परामर्श सेवा दिईरहेको बताए ।

सुरक्षित बैदेशिक रोजगारका बिषयमा सञ्चारमाध्यमको थप सशक्त भूमिका आवश्यक पर्ने उनको भनाई थियो ।

खासगरी बैदेशिक रोजगारीमा जानेहरुले अपनाउनु पर्ने सावधानी तथा सचेतनाका बारेमा जानकारी तथा उनीहरुले भोग्नु परेको समस्याका बारेमा जानकारी दिने उद्देश्यले अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो ।

सामी परियोजना अन्तर्गत धनुषाको जनकपुरधाम उपमहानगरपालिका, शहीदनगर नगरपालिका, गणेशमान चरनाथ नगरपालिका र धनौजी गाउँपालिकाको नेतृत्वमा सञ्चालित सुरक्षित आप्रवासन सम्बन्धी तथ्याङ्क, समस्या तथा समाधानका बारेमा सुझाव संकलन गर्ने काम भएको अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको छ ।

कार्यक्रममा परियोजना संयोजक कर्णले अहिले वैदेशिक रोजगारमा जानेहरु अवैधानिक बाटोबाट जाने र विभिन्न समस्यामा परेर घर फर्कने गरेकोले भविष्यमा यस्तो घटना नहोस भनेर सचेतना कार्यक्रम नेपाल सरकारले सामी परियोजना मार्फत संचालन गरेको बताए ।

कर्णले सरकारले फ्रिभिसा र फ्रिटिकटको व्यवस्था गरेको भएपनि धेरै मानिस मोटो रकम खर्चेर चोर बाटो हुँदै बैदेशिक रोजगारमा जाने प्रवृति रहेकोले त्यो नियन्त्रणकालागि पनि सामी परियोजनाले महत्पूर्ण भूमिका निर्वाह गरेको बताए ।

धनुषामा २०८० साउनदेखि २०८१ जेठसम्म आप्रवासी श्रोत केन्द्रबाट परामर्श सेवा लिनेमा १५ हजार ९०९ जना, रिटर्नी स्वयंसेवक मार्फत परामर्श लिनेमा १० हजार ४२४ जना, गहन तथा समुदाय अभिमुखिकरण मार्फत परामर्श लिनेमा ५८४ जनासहित जम्मा २६ हजार ९१७ जनालाई सूचनामा पहुँच रहेको जानकारी दिइएको थियो ।

त्यस्तै, तालिमको लागि सिफारिस गरिएको ३४ तथा सीप सिकेको ८ जनासहित ४२ जनालाई सीपमा पहुँच पुर्याइएको जानकारी दिइयो ।

आप्रवासी स्रोत केन्द्र मार्फत ३५० जनाको न्यायमा पहुँच पुगेकोमा २०० जनाको समस्या समाधान गरिएकोमा जिल्ला प्रशासन कार्यालय मार्फत २५६ मध्ये १११ जना र स्थानीय तहमार्फत ४९ मध्ये ३५ जनालाई न्यायमा पहुँच पुर्याइएको बताइएको थियो ।

सामीमार्फत ६ करोड ९० लाख ४२ हजार ४ सय रुपैयाँ आर्थिक सहायता रकम उपलब्ध गराइएको जानकारीसमेत दिइयो ।

सामी कार्यक्रमले वैदेशिक रोजगारीमा जाने आप्रवासीहरुलाई सूचनामा पहुँच, न्याय, सिप तालिम, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कार्यक्रम संचालन गर्दै आएको छ ।