जनकपुरधाम, १३ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली मधेश दौडाहाका क्रममा मधेशवादी दलका प्रभावशाली नेताहरुलाई धमाधम एमालेमा भित्र्याउने काम गरिरहेका छन् ।

पछिल्लो समय जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का प्रभावशाली नेता, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वपालिका प्रमुखसहित जिल्लामा शक्तिशाली मानिएका नेतालाई एमालेमा भित्र्याउन ओली सफल देखिएका हुन् ।

यसैक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का धनुषा जिल्ला सह–सचिव सुनिल कुमार श्रेष्ठ (सानु) पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाउँदै श्रेष्ठ सो पार्टीमा प्रवेश गरेका हुन् ।

लोसपा परित्याग गर्दै नयाँ राजनीतिक यात्राको शुरूवात गर्ने भन्दै श्रेष्ठ नेकपा एमालेमा प्रवेश गरेका हुन् । जसपा फुटेपछि उनले लोसपा रोजेका थिए । उनी शुरुवातदेखि नै सो पार्टीमा आबद्ध थिए ।

श्रेष्ठ एमालेमा प्रवेश गर्दै भनेका छन्, “म सुनिल कुमार श्रेष्ठ (सानु) लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको यात्रालाई आजबाट पूर्णरुपले बिराम दिएको छु । यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नुभएको सम्पूर्ण साथी, शुभचिन्तक र पार्टीका सदस्यहरुलाई हृदयदेखि धन्यवाद ।”

मधेशी दलका नेताहरुले मधेशका मुद्दा र मधेश आन्दोलनलाइ सत्ताको कुर्सीसँग सौदाबाजी गरेकोले आफूले लोसपा परित्याग गरेको श्रेष्ठले बताए । उनले मधेशी दल छाडेपनि आफूले मधेशको मुज्ञा र गन्तव्य भने नछाडेको जिकिर गरे ।

मधेश आन्दोलनमा अग्रणी मोर्चामा रहेर मधेसीको हकअधिकारका निम्ति लामो राजनीतिक यात्रा गर्दैगर्दा श्रेष्ठमाथि झुठो मुद्दा लगाइँदा उनी जेलसमेत बसेका थिए । उनी पछिल्लो निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ को वडाध्यक्ष पदको उम्मेदवार समेत बनेका थिए ।

युवा नेता श्रेष्ठ लोसपाभित्र शरत सिंह भण्डारी निकट रहेर काम गरिरहेका थिए ।

देशैभरि सक्रियताका साथ अभियान चलाएर सबैले थाहा पाउने गरी नेकपा एमालेको ध्यान मधेशमा केन्द्रित भएको छ भने मधेशको ध्यान नेकपा एमालेमा केन्द्रित भएको छ । मधेश राजनीतिमा सबैले थाहा पाउने गरी आइरहेको यस बदलावले मुलुकको भावी राजनीतिको गणितलाई नै प्रत्यक्ष प्रभाव पार्ने भएकोले सबैको ध्यान यसतर्फ आकृष्ट भएको देखिन्छ ।

विगतका निर्वाचन नियाल्दा मधेशमा नेकपा एमाले बलियो थिएन । २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सत्ताधारी गठबन्धनका बावजुद २९१ स्थानीय तह जितेर देशव्यापी पहिलो हुँदा नेकपा एमाले मधेश प्रदेशमा पाँचौं दलमा सीमित थियो ।

‘एमालेमुक्त मधेश बनाउँछौं, मधेशमा केपी ओलीलाई निषेध गर्छौं’ भन्ने जस्ता उत्तेजक अभिव्यक्तिका बीचबाट गुज्रेर आज नेकपा एमाले मधेशमा सबैभन्दा बढी जनाकर्षण बढिरहेको पार्टी बनेको छ भने केपी ओली मधेशमा सबभन्दा बढी स्वागत पाउने नेताका रूपमा देखिएका छन् ।