जनकपुरधाम, २९ जेठ । मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।

आज बस्ने प्रदेश सभा बैठकमा आगामि आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

त्यसका लागि आज साँझ ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका निमित्त सचिव अरुण कुमार झाले जानकारी दिए । सो बैठकलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सम्बोधन गर्नेछिन् ।

बैठकमा सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको झाले जानकारी दिए।

प्रदेश सरकारले हरेक वर्ष असार १ गते वार्षिक बजेट ल्याउनुपर्ने  संवैधानिक व्यवस्था छ । त्यसअघि प्रदेश प्रमुखमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहले यसपालिको नीति तथा कार्यक्रम र बजेट उत्पादनमा वृद्धि तथा रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् ।

प्रदेशका ठूला र रणनीतिक महत्वका पूर्वाधार आयोजनालाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा संघीयताको सवलीकरण, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधारलाई ध्यानमा राखेर दिगो विकासमा जोड दिइएको मुख्यमन्त्री सिंह निकट एक नेताले जानकारी दिए ।