गणतन्त्र, संघीयता र समावेशितालाई समाप्त पार्ने षड्यन्त्र हुँदैछ : अध्यक्ष यादव

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमा बसेर हुकुमत चलाउनेहरूले व्यवस्था उल्टाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
उनले काठमाडौंमा बसेर हुकुमत चलाउनेहरूले गणतन्त्र, संघीयता र समावेशितालाई समाप्त गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन् ।
जनता समाजवादी पार्टी नेपालको जनकपुरधाममा हुनलागेको एकताको प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा प्रेस मञ्च नेपालले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सरकारले भर्खर मात्र ११ वटा देशको राजदुतहरुलाई फिर्ता बोलाएर कुटनीतिक मर्यादाको उल्लंघन गरेको आरोप लगाए । उनले भागबण्डा मिलाएर नियुक्ती गर्ने मनसायले सरकारले राजदुतहरुलाई फिर्ता बोलाएर अन्तर्राष्ट्रिय छवीसमेत खराब बनाएको जिकिर गरे ।
अर्को प्रसंगमा बोल्दै उनले भने, ‘सरकारको ध्यान किसानहरुलाई मलखाद्य वितरण गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा अन्यत्र मोडिएको छ । उँखु र दुध किसानहरु अत्यन्त पीडामा छन् । उनीहरुलाई तत्कालै भुक्तानी दिनुपर्दछ ।’
अध्यक्ष यादवले सरकारले ल्याएको बजेट पनि आग्रह पूर्वाग्रहले प्रेरित रहेको आरोप लगाउँदै शिक्षा, स्वास्थ्य र कृषिलगायतका क्षेत्रमा पछि परेको मधेशलाई सबभन्दा कम बजेट दिनु लज्जास्पद रहेको धारणा राखे । सरकारले मधेशको विकासलाई आफ्नो विकास नठानेको उनको आरोप थियो ।
उनले भने, ‘यो प्राथमिकता हराएको बजेट हो । यस बजेटले बेरोजगारी घटाउँदैन । शिक्षा र स्वास्थ्यको अवस्था समेत सुध्रिदैन । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढ्न सरकार चुकेको छ ।’
यादवले प्रदेश र जनतामा अधिकार आउने क्रम सुरु भएपछि संघीयता र गणतन्त्र समाप्त पार्ने खेल पनि सुरु भएको बताउँदै शासकवर्गको गलत नीति र पूर्वाग्रही सोचका कारण नेपाल संसारकै पिछडिएको देशमा पुगेको आरोपसमेत लगाए ।
उनले अधिकार र विकासलाई सँगसँगै जोड्नुपर्ने भन्दै सामाजिक परिवर्तनमा पनि जोड दिएका थिए । ‘राजनीतिक परिवर्तनहरू भए, राजतन्त्रबाट गणतन्त्र भयो । तर सामाजिक परिवर्तन बिना राजनीतिक परिवर्तन अपुरो हुन्छ,’ नेता यादवले भने ।
जनकपुरधाममा प्रथम महाधिवेशन हुँदै
जनता समाजवार्दी पार्टी नेपालले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशन यही जेठ २८, २९ र ३० गते जनकपुरधाममा गर्न लागेको छ । २८ गते तिरहुतिया गाछीमा हुने उद्घाटन समारोहमा भारत, मलेशिया, स्पेन, अजरबैजान, इन्डोनेशियालगायतका देशहरुको लोकतान्त्रिक पार्टीका प्रतिनिधिहरुको सहभागीता रहने छ ।
त्यस्तै, २९ गते दोस्रो दिन जसपा नेपालको राजनीतिक वैचारिक दस्तावेज निर्माण गरिने तथा तेस्रो तथा अन्तिम दिन जेठ ३० गते निर्वाचन सत्रको आयोजना गरिने अध्यक्ष यादवले जानकारी दिए ।
जसपा विभिन्न राजनीतिक दल, घटक सङ्गठन, मोर्चा, आन्दोलन र अभियान मिलेर बनेको भन्दै अध्यक्ष यादवले एकता महाधिवेशनले सबैको भावना समेट्ने दावीसमेत गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


