जनकपुरधाम, २५ जेठ । मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री भरत प्रसाद साहले निर्धारत समयमै बजेट ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार पदभार ग्रहणपश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री सिंहले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले भने, ’प्रचलित कानुनी व्यवस्थाअनुसार तोकिएकै समयभित्र मधेश प्रदेशको बजेट तथा कार्यक्रम ल्याउने गरी आवश्यक तयारी गरिने छ । प्रदेशको आयमा बढोत्तरी हुनेगरि प्रदेशको सन्तुलित विकास र समन्यायिक विकासलाई प्राथमिकतामा राखी बजेट तर्जुमा हुनेछ ।’

आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रमलाई वस्तुनिष्ठ, अनुमानयोग्य एवं पारदर्शी बनाउन र बजेट तर्जुमा प्रक्रियालाई जनताको वास्तविक आवश्यकता तथा प्रदेशको समृद्धिमा योगदान पु¥याउन तोकिएकै समयमा बजेट ल्याउने उनले जानकारी दिए ।

मन्त्री साहले नागरिकले प्रदेश सरकारबाट सहयोगको अनुभूति पाउने गरी सरकारबाट हुने खर्चलाई प्रभावकारी बनाइने बताएका छन् ।

प्रदेशको गरिबी निवारण, उत्पादन वृद्धि र समाजिक न्याय सहितको आर्थिक समृद्धि पहिलो प्राथमिकतामा रहेको मन्त्री सिंहको प्रतिबद्धता थियो ।