मधेशको पहिलो मन्त्रिपरिषद् बैठकबाट प्रत्यक्ष सांसदलाई ५ र समानुपातिकलाई डेढ करोड बजेट परिचालन गर्न दिने निर्णय

जनकपुरधाम, २५ जेठ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले मन्त्रीपरिषद्को पहिलो बैठकबाट ९ बुँदे महत्वपूर्ण निर्णयहरु गरेका छन् ।
सिंह नेतृत्वको सरकारले संसदीय क्षेत्र विकासका लागि प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट परिचालन गर्न दिनेलगायतका महत्वपूर्ण निर्णयहरु गरेको हो । शपथ ग्रहण लगतै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस्तो निर्णय गरिएको अर्थमन्त्री भरत प्रसाद साहले जानकारी दिएका छन् ।
मन्त्रीपरिषद् बैठकले बाँझो जग्गालाई उपयोग गरी नमुना कृषि विकास मोडल लागू गर्न कृषि समूह सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने, मधेश प्रदेशका प्रत्येक जिल्लामा नमुनाको रुपमा एक÷एक वटा खुला शैक्षिक पार्क तयार गर्ने, मधेश प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वशनिय बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैंक स्थापना गर्ने, वैदेशिक रोजगारबाट सिप सिकेर फर्केका जनशक्तिको रोस्टर निर्माण गरी श्रम बैंकको रुपमा परिचालन गर्दै सिपलाई रोजगार संग जोडने, दिगो मधेश विकासको योजना तयार गरी स्वदेशि एवम् बैदेशिक लगानी आकर्षण गर्न मधेश प्रदेश लगानी सम्मेलनको आयोजना गर्ने, मधेशमा सुशासनको जग स्थापित गर्न खोजमुलक पत्रकारितालाई प्रबर्द्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदारी कार्यक्रम संचालन गर्ने एवम् मधेशमा दर्ता भएका मिडियामा कार्यरत पत्रकारको दुर्घटना विमा गर्ने तथा मधेशको खेल क्षेत्रलाई गतिशील बनाउन प्रदेश गौरवको आयोजनाको रुपमा रंगशाला निर्माण गर्ने र खेलाडीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्नेलगायतका निर्णयहरु गरेको छ ।
बैठकले गृह, सञ्चार तथा कानून मन्त्रालय मातहत रहेको शहिद प्रतिष्ठान मार्फत शहिद परिवारहरुका लागि राहत र वृतिविकास तथा संघियता र गणतन्त्रका संस्थापक नेताद्वय गजेन्द्र नारायण सिंह तथा रामराजा प्रसाद सिंह लक्षित कार्यक्रमहरु ल्याउने घोषणासमेत गरेको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


