जनकपुरधाम, २५ जेठ । जनमत पार्टीका सतिश कुमार सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन्।

६ दलका ५५ जना सांसदको समर्थनमा दावी पेश गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त कार्यालय प्रमुख शत्रुधन यादवले जानकारी दिए ।

मुख्यमन्त्री नियुक्त भएका सिंहले अब केहीबेरमा पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्।

सिंहले शपथ गरेलगत्तै ११ सदस्यीय मन्त्रीमण्डलसमेत गठन गर्ने तयारी रहेको बताइएको छ ।

नेकपा एमाले, माओवादी केन्द्र, जनमत, नेकपा एस, संघीय समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्तिसहित ६ दलबीच बिहीबार अबेर राति मन्त्रालयको बाँडफाँट भएसँगै अर्थमन्त्रीमा माओवादीका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई, एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा एसबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा नेकपाएसकी बेंची लुङेलीलाई ऊर्जा, सिँचाइ र खानेपानी मन्त्री बनाइँदै छ ।

एकमात्र सांसद रहेको संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहलाई श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी तोक्ने तयारी रहेको बताइएको छ ।

एमालेको भागमा स्वास्थ्य, शिक्षा र खेलकुद मन्त्रालय पनि परेको छ । एमालेले यी तीन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्न बाँकी रहेको छ ।

जनमत पार्टीको भागमा भने मुख्यमन्त्रीसहित वन तथा वातावरण मन्त्रालय परेको छ ।