मधेश प्रदेश : सिंहद्वारा मुख्यमन्त्रीका लागि दावी पेश

जनकपुरधाम, २५ जेठ । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनमत पार्टीका सतिश कुमार सिंहले दावी पेश गरेका छन्।
५५ सांसदको हस्ताक्षर सहित सिंहले शुक्रबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन्।
मधेश प्रदेशमा कुल सांसदको संख्या १०७ रहेकोमा लोसपाका अभिराम शर्मा निलम्बनमा परेका छन् ।
सिंहले एमालेका २४, जनमतका १३, माओवादीका ९, नेकपा एसका ७, नागरिक उन्मुक्ति पार्टीका १ र संघीय समाजवादी पार्टीका १ सहित ५५ जना सांसदको हस्ताक्षर बुझाएका हुन्।
६ दलिय गठबन्धनमा मन्त्रालयको विषयमा बिहीबार अबेर राति दलहरुबिच मन्त्रालयको भागबण्डा टुंगिएपछि सिंहले मुख्यमन्त्रीका लागि दावी पेश गरेका हुन् ।
१०७ सदस्यीय प्रदेश सभामा यी ६ दलको ५५ जना प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ ।
सत्ता साझेदार दलहरुबीच एमालेले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रले अर्थ र पर्यटन, नेकपा एसले कृषि, उर्जा तथा सिंचाइ तथा १–१ सिट रहेको संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


