बटसावित्री पर्वको यस्तो छ धार्मिक महत्त्व

– ज्योति झा
जनकपुरधाम, २४ जेठ । मिथिलामा हरेक महिनाको आफ्नो विशेष महत्त्व छ । पर्व त्योहारको मामिलामा असाध्यै धनि मिथिलामा बिहीबार बटसावित्रीको हर्षोल्लास देखियो । बटसावित्री जसलाई बरसाइत पनि भनिन्छ । यो पर्व खास गरेर ब्राम्हण, कायस्थ, सोनार, भूमिहार जातिले गर्ने पर्व हो ।
यसदिन बुढापाकादेखि नवदुल्हीसम्म सबै बटसावित्री (बरसाइत) को पूजापाठमा व्यस्त देखिएकी थिइन् । जेठ महिनाको कृष्ण पक्षको अमावश्या तिथीका दिन मनाइने बरसाइत पर्वका लागि मिथिलानीहरु एक/दुई महिना पहिला देखि नै विभिन्न सामानहरू किनमेल गर्छन् । अहिबाती अर्थात जसको श्रीमान जीवित हुन्छन् ति मिथिलानीहरुको प्रमुख पर्वको रुपमा रहेको यो पर्वमा नयाँ साडी, नव चुरा, सोह्र श्रृंगार विभिन्न प्रकारको सामग्री सहित बाँसले बनाइएको बेन र प्रसादमा यो मौसममा फल्ने आँप, लिची र चना तथा अंकुरीलाई प्राथमिकतामा राखिन्छ ।
बरकोे रुखमुनि गरिने पूजामा वरको बोटलाई श्रीमानको प्रतिक मानेर ब्रतालु मिथिलानीहरु पहेंलो, रातो ताग अर्थात धागोले वरलाई बाँध्छिन्। जल र आँप लिएर तिन, पाँच वा सात पटक जल अर्पण गर्छन् । त्यस्तै सत्यवान– सावित्रीक र नाग–नागिनको कथा सुनिन्छ ।
मिथिलामा केही वर्ष पहिलेसम्म विशेषत: ब्राह्मण, कायस्थ र सोनार जातिका अहिबाती महिलाहरुका लागि मात्र अनिवार्य रहेको बरसाइत पर्व अब विभिन्न समुदायका अहिबाती महिलाहरु पनि श्रद्धापूर्वक गर्न थालेकी छन् ।
यता ब्राह्मण, कायस्थ र सोनार जातिका नव–विवाहिताहरुले विवाहको पहिलो वर्ष बरसाइत पर्व धुमधामसँग गर्छिन् । नवविवाहिता महिलाहरुको ससुरालीबाट यो पर्व मनाउन भार (कोसेली) पठाउने गरिन्छ र त्यसै कोसेलीबाट पूजाआजा गर्ने चलन छ । कोसेलीमा साडी, चोलो, चना, आँप, चुरा, दही बेन (बाँसको पंखा) रातो पहेलो धागो लगायत माटोले बनाइएका विषहराको पाँच बहिनीको स्वरूप र कपडाले बनाइएको बर कनिया फुलडाली (महफा) मा राखेर सबै सामग्री पठाइन्छ ।
बटसावित्री पर्व मनाउँदा मनको इच्छा पूरासँगै पतिको आयु बढ्ने जनविश्वास रहिआएको छ । धार्मिक किम्वदन्ती अनुसार बरको रुखमा व्रह्मा, विष्णु र महादेवको वास हुने भएकाले बरको रुखको पूजा गर्ने प्रचलन छ । पौराणिक मान्यता अनुसार ऋषिपुत्री सावित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहिता महिलाहरुले जेठ औंसीको दिन यो पर्व मनाउने गर्दछन् ।
अन्य रुखको तुलनामा बरको रुखको आयु लामो हुने र बरकै रुखमुनि सावित्रीको पति सत्यवानको प्राण फिर्ता गरिएकोले पूजा गर्ने चलन बसेको जानकारहरु बताउँछन् ।
यसै सन्दर्भमा एक व्रति महिला भन्छिन, ‘अखण्ड सोहागको लागी गरिने कुनैपनि व्रत एक समुदायको हुँदैन । यो सबैले आफ्नो स्वेच्छाले गर्न पाउनुपर्छ । त्यसैले म पनि श्रीमानको दीर्घायुको कामनासँग यो व्रत २ वर्षदेखि गर्दै आएकी छु ।’
बरसाइत पर्व प्रकृतिसंग पनि जुडेको छ । बरको शितलता र बाँसले बनाइएको पंखा प्रयोगले प्रचण्ड गर्मीबाट पनि बचाउँछ ।







तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


