जनकपुरधाम, २३ जेठ । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ (२) अनुसार जेठ २५ गते शुक्रबार बिहान १० बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी हुन् ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त कार्यालय प्रमुख शत्रुधन यादवले बुधबार राति जारी गरेको सूचनामा लेखिएको छ, ‘मधेश प्रदेश सभाको च.नं. १०९५ मिति २०८१ जेठ २३ गतेको प्राप्त पत्रानुसार मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्नका लागि प्रस्तुत गर्नु भएको विश्वासको मतको प्रस्ताव बहुमतले पारित नभएकोले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई जेठ २५ गते शुक्रवार बिहान १०:०० बजेभित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आह्वान गर्नुभएको व्यहोरा जानकारीको लागि अनुरोध छ।’

प्रदेश प्रमुखको आह्वानपछि एमाले, माओवादी, जनमत र एकीकृत समाजवादीलगायतका दलले बिहीबार दाबी प्रस्तुत गर्ने माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले जनाए ।

बुधबार जसपा नेतृत्वको सरकारलाई बहुमत प्रदेश सभा सदस्यले विश्वासको मत नदिएपछि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका थिए ।

योसँगै मधेशमा करिव साढे ६ वर्षपछि जसपा सत्ताविहीन भएको छ ।