जनकपुरधाम, २३ जेठ । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार ढलेको छ। योसँगै मधेशमा जसपा ६ वर्षपछि सत्ताविहीन भएको छ ।

प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै उनी नेतृत्वको सरकार ढलेको हो ।

१०६ सदस्यीय प्रदेश सभामा यादवको विश्वासको मतको प्रस्तावको पक्षमा ५० जना सांसद मात्रै उभिए । विपक्षमा ५३ जना उभिएपछि विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको हो।

यादवलाई नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ८ र राप्रपाका १ जना सांसदले मत दिए।

उनको विपक्षमा भने नेकपा एमालेका २४ (सभामुखबाहेक), जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९ र नेकपा एकीकृत समाजवादी पार्टीका ७ जनासहित ५३ सांसदले मत दिए ।

आजको बैठकमा १०३ जना प्रदेश सभा सदस्यहरू उपस्थित थिए । संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद भने अनुपस्थित थिए।

मुख्यमन्त्री यादवले पाएको मत उपस्थित संख्याको बहुमत नभएकाले उनले विश्वासको मत नपाएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।

यसअघि चारपटक विश्वासको मत लिन सफल भएका यादव पाँचौपटक भने असफल भएका छन्। केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै मधेशमा यादव अल्पमतमा परेका थिए । मधेशमा अब एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादसहितको सहयोगमा जनमत पार्टी नेतृत्वको सरकार बन्ने सम्भावना बढेको छ।