जनकपुरधाम, २२ जेठ । नेकपा एकीकृत समाजवादीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । एकीकृत समाजवादीले मधेस सरकारबाट बाहिरिन त्यहाँको संसदीय दललाई निर्देशन दिइसकेको छ ।

केन्द्रको निर्देशन अनुसार एकीकृत समाजवादीले मधेस सरकारबाट मंगलबार नै बाहिरिने तयारी गरेको हो । सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एकीकृत समाजवादी मधेस प्रदेश संसदीय दलको बैठक बोलाइएको छ ।

केन्द्रबाट नयाँ समीकरण अनुसार सरकार बनाउन निर्देशन गएपछि र सोही निर्देशनअनुसार पार्टीको संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तयारी गरेको हो ।

एकीकृत समाजवादीबाट मधेस सरकारमा संसदीय दलका नेता गोविन्द न्यौपाने र बेची लुंगेली गरी २ जना मन्त्री छन् । यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एमाले मधेस सरकारबाट बाहिरिइसकेका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसले भने विश्वासको मत दिने भएको छ ।