सातवटै प्रदेशमध्ये सबैभन्दा बढि बेरुजु मधेश प्रदेशको, सुदूरपश्चिमको सबैभन्दा कम

जनकपुरधाम, १४ जेठ । महालेखापरीक्षकको प्रतिवेदनमा सबैभन्दा बढि बेरुजु मधेश प्रदेशको देखिएको छ । मधेश प्रदेशको बेरुजु ३.८७ प्रतिशत रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलललाई बुझाएको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार मधेश प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँ बेरुजु देखिएको हो ।
मधेशमा पेस्कीबाहेक २.९३ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । यस प्रदेशका १४९ वटा कार्यालयको ४७ अर्ब ९५ करोड २१ लाख ३२ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा पेस्कीबाहेक कुल १ अर्ब ४० करोड ५६ लाख ७४ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार कोशी प्रदेशमा २.५० प्रतिशत, बागमतीमा १.१५ प्रतिशत, गण्डकीमा १.९५, लुम्बिनीमा १.९५, कर्णालीमा २.५९ प्रतिशत र सुदूरपश्चिममा सबैभन्दा कम ०.९५ प्रतिशत बेरुजु रहेको छ ।
महालेखापरीक्षकको कार्यालयले ७ वटा प्रदेशको १ हजार ३८७ वटा कार्यालयको ३ खर्ब ६० अर्ब ८३ करोड ५६ लाख ८९ हजारको लेखापरीक्षण गर्दा ७ अर्ब ४० करोड ८९ लाख ३६ हजार अर्थात २.०५ प्रतिशत बेरुजु देखिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


