सप्तरी, १८ बैशाख । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

जिल्लाको महादेवा गाउँपालिका-१ चिम्टीमा मंगलबार दिउँसाे २ बजेदेखि सुरु भएको आगलागी समाचार तयार पार्दासम्म नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी २ सयभन्दा बढी घर जलेर नष्ट हुँंदा करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तिब्र गतिमा आएको हुरीपश्चात स्थानीय शत्रुधन यादवको घरबाट आगलागी सुरु भएको बताइएको छ । आगलागीले गाउँ नै स्वाहा भएको हो ।

दलित र मुस्लिम समुदायको घना बसोबास रहेको बस्तीमा एक्कासी आगलागी हुँदा २ सय जति घर जलेर नष्ट भएको स्थानीयले जनाएका छन् ।

हनुमाननगर कंकालिनी, राजविराज, शम्भुनाथ नगरपालिकाबाट गएको बारूण यन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । साँझ ७ बजेसम्म पनि आगो पूर्ण नियन्त्रणमा नआएको बताइएको छ ।

आगलागीमा १ करोडभन्दा बढीको क्षती भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।