पत्रकार यादवको मृत्यु घटना छानबिन गर्न प्रेस युनियनको माग

जनकपुरधाम, १७ बैशाख । नेपाल प्रेस युनियन धनुषाले पत्रकार विनय कुमार यादवको मृत्यु घटनाको छानबिन गर्न माग गरेको छ ।
नेपाल प्रेस युनियन धनुषाले सोमबार एक विज्ञप्ती जारी गर्दै घटनामा प्रहरीको कमीकमजोरी, अनुसन्धान प्रक्रिया र सुस्तताप्रति खेद प्रकट गरेको छ ।
विज्ञप्तीमा लेखिएको छ, ‘पत्रकार विनय कुमार यादवको मृत्यु प्रकरणमा धनुषा प्रहरीले दवावपूर्वक पीडित परिवारमाथि होच्याईपन प्रवृति देखाएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ । राष्ट्रको चौथो अंगप्रति प्रहरीको यस्तो व्यवहारप्रति हामी खेद प्रकट गर्न चाहन्छौं ।’
पत्रकार यादवलाई योजनावद्ध तरिकाले फँसाएर सुनुयोजित हत्या भएको हुन सक्ने प्रेस युनियन धनुषाको ठहर छ ।
परिवारजनका अनुसार पत्रकार यादवको हत्याको आशंका तथा विभिन्न संचारमाध्यममा आएको प्रमाणहरुको आधारमा उनको हत्या भएको हुन सक्ने ठहर छ ।
संचारमाध्यममा प्रकाशित प्रमाण, तथ्यहरु, सिसिटिभी फुटेज, कल डिटेल्स, सवारी चालक ललन भन्ने लक्ष्मीनारायण यादवको अप्रत्यासित र उल्टो बयानले पत्रकार यादवको हत्या भएको आशंका झन गहिरिंदै गए पनि प्रहरीले यसलाई सवारी ज्यानतर्फ मोड्न खोजेको र पीडित परिवारलाई पटक पटक फोन गरी सवारी ज्यानमै जाहेरी दिन बल गरेकोले प्रहरीलाई यस्तो प्रवृति नदेखाउन पनि सचेत गराएको छ ।
प्रमाणहरुको आधारमा शंकास्पद व्यक्तिहरु, परिवारजनले दिएका नामहरुमा किटानी गरी कर्तव्य ज्यानको मुद्दामा पीडित परिवारको गुनासो अनुसार उजुरी दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाउन धनुषा प्रहरीलाई युनियनले अनुरोध गरेको छ ।
घटना सुरुदेखि नै शंकास्पद रहेकोले यसलाई उच्चस्तरीय छानविन, अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन युनियनले माग गरेको छ ।
पत्रकार यादवको मुद्दामा धनुषा प्रहरीले दोहोरो चरित्र, दलिय नेताहरुको दबाव महसुस गराए पत्रकारहरु कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत विज्ञप्ती मार्फत दिइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


