जनकपुरधाम, २८ चैत । जनकपुरधाममा एक हप्ते मेहन्दी तालिम सम्पन्न भएको छ ।

ग्रीन स्पेस नेपाल तथा जनकपुर ह्याण्डमेड आर्ट एण्ड क्राफ्टको संयुक्त आयोजनामा भएको उक्त तालिम बुधबार सम्पन्न भएको हो ।

महिलालाई सीप सिकाएर उद्यमी बनाउने उदेश्यले तालिम दिइएको ग्रीन स्पेस नेपाल जनकपुरधामका अध्यक्ष धिरज साहले बताए । उनले २२ जना महिलाहरूलाई एक हप्तासम्म मेहन्दी तालिम दिइएको जानकारी दिए ।

तालिममा सहभागी भएकाहरूलाई प्रमाणपत्र वितरण गर्दै मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयका महाशाखा प्रमुख देव कुमारी शर्मा खत्रीले आयआर्जनको बलियो स्रोतको रुपमा मेहन्दी तालिम रहेको बताइन् ।

उनले यस्ता तालिम र सिपहरूले महिलाहरू आर्थिक क्षेत्रमा बलियो हुनुका साथै आत्मनिर्भर भएर अगाडि बढनसक्ने बताइन् । उनले महिलालाई पनि आर्थिक रूपले मजबुत बन्न आग्रह गर्दै वैदेशिक रोजगारीमा गएर दु:ख भोग्नुभन्दा राम्रो सीप सिकेर स्वदेशमै स्वरोजगार बन्नु उचित रहेकोसमेत धारणा राखिन ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशकी उपाध्यक्ष ज्योति झाले महिलालाई सीप सिकेर स्वरोजगार बन्ने माध्यमहरू यस्ता यस्ता तालिम र प्रशिक्षणहरू नै रहेको बताइन् । उनले सीप सिकेर काम गर्दा महिलाले आयआर्जन गर्नुका साथै आफूलाई तनाबबाट पनि टाढा राख्न सक्ने धारणा व्यक्त गरिन ।

ग्रीन स्पेस नेपाल जनकपुरधामका अध्यक्ष साहले महिलाहरूलाई दक्ष बनाउन आगामी दिनहरूमा पनि यस्ता तालिमहरू निरन्तर संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तालिमको समापन समारोहमा नेपाल पत्रकार महासंघ धनुषाका सचिव बटुकनाथ झा, युवा अभियन्ता आशुतोष कुमार झा , प्रशिक्षक प्रियंका साह, आरती कुमारी झा , ग्रीन स्पेस नेपालकी सदस्य किरण साह लगायतकाहरूको उपस्थिति रहेको थियोे ।