निर्माण व्यवसायीको निर्वाचन : महासचिवका उम्मेदवार सिंहको यस्तो छ प्रतिबद्धता

जनकपुरधाम, २१ चैत । चैत २४ गते शनिबार हुन लागेको धनुषा निर्माण व्यवसायी संघको निर्वाचनमा रुपेश कुमार सिंह (मुन्ना) ले महासचिव पदमा उम्मेदवारी दिएका छन् ।
केशव कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका सिंहले आगामी निर्वाचनमा महासचिव पदमा आफ्नो उम्मेदवारी दिएका हुन् ।
संघका निवर्तमान कोषाध्यक्ष समेत रहेका सिंहले आफू निर्वाचित भएपछि सम्पूर्ण निर्माण व्यवसायीको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले निर्माण व्यवसायी संघको नेतृत्व तहमा पुगेर आफू धनुषाका सम्पूर्ण निर्माण व्यवसायीको आशा र भरोसाको सम्बाहक बन्न चाहेकोले सबैजनाले आफूलाई साथ र सहयोग गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
धनुषा जिल्लाका सम्पूर्ण निर्माण व्यवसायीहरुको हकहितको संरक्षण तथा सम्बर्द्धन गर्दै राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउन आफूले अहम भूमिका निर्वाह गर्ने रुपेशको प्रतिबद्धता छ ।
उनका अनुसार निर्माण व्यवसायीहरूले बेहोरिरहेको समस्या पुरानै भए पनि अहिले त्यो कचल्टिएर संकटको रूप लिएको छ।
समयमा पैसाको भुक्तानीको अतिरिक्त काम नसकिएका आयोजनाहरूको ठेक्कापट्टामा म्याद थप अनि निर्माण सामग्रीको सहज आपूर्ति एवं बैंकबाट उपलब्ध हुने कर्जासम्ममा व्यवसायीहरूले अप्ठेरै अप्ठेरोको सामना गर्नु परेको सिंह सुनाउँछन् । त्यसमा सबभन्दा टड्कारो समस्या चाहिँ भुक्तानीमा ढिलाइकै छ।
“भुक्तानी रोकिँदा यो क्षेत्र नै सङ्कटग्रस्त बनिसकेको छ। अब आगामी वर्षहरूमा समेत यसैगरी हामीले काम गर्न सम्भव छैन,” केशव कन्स्ट्रक्सनका संचालनक समेत रहेका सिंहले यस्ता समस्याहरूको समाधानका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् ।
“अर्को ठूलो समस्या चाहिँ खर्बौं रुपैयाँ जतिका स्रोत सुनिश्चित गरिएका तर बजेट विनियोजन नगरिएका योजनाहरू छन् तिनको सरकारले व्यवस्थापन गर्नु पर्यो,” उनले भने।
खासगरी विभिन्न तहका सरकारले विकासका आश्वासन दिने तर स्रोत व्यवस्थापन गर्न नसक्ने समस्या स्थानीय अस्पताल तथा सडक निर्माणमा धेरै देखिएको उनी बताउँछन्।
निर्माण व्यवसायीलाई भुक्तानी रोकिँदा त्यसले निर्माण सामग्री, कामदारलगायत आपूर्ति शृङ्खलामा जोडिने सबै क्षेत्रमा भुक्तानी रोकिने गरेको उनको भनाइ छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


