जनकपुरधाम, २१ चैत । मधेश प्रदेशमा हुने गरेको विभिन्न प्रकारका कार्यक्रमहरूमा ठूलो अवाजमा डिजे लगायतका साउण्ड सिस्टमले ध्वनी प्रदुषण भई स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको जनगुनासो बढन थालेपछि त्यसलाई नियन्त्रणका लागि प्रदेश सरकारले अग्रसरता देखाएको छ ।

प्रदेश सुरक्षा समन्वय समितिको मंगलबार जनकपुरधाममा बसेको बैठकले ध्वनी प्रदुषणले विभिन्न खालको समस्याहरु सृजना गर्ने गरेको ठहर गर्दै नियन्त्रणका लागि हरेक पक्षबाट समन्वय र सहयोगको अपेक्षा समेत गरेको छ ।

प्रदेश सुरक्षा समन्वय समितिका अध्यक्ष एवम् गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले जनताको गुनासोलाई सम्बोधन गर्दै तत्काल ध्वनी प्रदुषण नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए । बैठकमा जनताले गरेका गुनासाहरु सुनाँउदै मन्त्री लेखीले ध्वनी प्रदुषणका कारण हृदयका रोगीहरुलाई विभिन्न खालका समस्या हुनुको  साथै एसइईका विद्यार्थीहरुलाई पठन पाठनमा समेत समस्या भइरहेकोले नियन्त्रणका लागि आवश्यक कदम चाल्न मन्त्रालय मातहतका निकायहरुलाई निर्देशन दिए ।

ध्वनी प्रदुषण रोक्नका लागि प्रदेशभरीका जिल्ला प्रशासन कार्यालय, चारवटै सुरक्षा निकाय र स्थानीयतहहरूलाई पत्र पठाइएको मन्त्री लेखीले जानकारी दिए । मन्त्रालयले गरेका निर्णयलाई अटेर गर्नेलाई कानून अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने समेत बताइएको छ ।

गृह, सञ्चार तथा कानून मन्त्रालय सम्हालेको केहीदिनमै एक पछि अर्को गरी जनगुनासालाई सम्बोधन गर्न थालेपछि मन्त्री लेखीले केही गर्लान् कि भन्ने आशा मधेशको जनतामा पलाएको छ ।

मन्त्री लेखीले पदभार ग्रहण गरेकै दिन मन्त्रालयले गर्ने कामकाजको पारदर्शीताका लागि सूचनाको हकको पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेका थिए ।