यसवर्षको महामूर्ख मधेशका सभामुख मण्डल, अन्य १३ जनालाई पनि विभिन्न मानपदवी

जनकपुरधाम, १२ चैत । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले यस वर्षको महामूर्खको उपाधि पाएका छन् ।
होलीको अवसरमा जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गरेको महामूर्ख सम्मेलनमा मण्डलले महामूर्खको उपाधि प्राप्त गरेका हुन् ।
सभामुख मण्डलसँगै मिनापले अन्य १३ जनालाई पनि विभिन्न उपाधि प्रदान गरेकोे छ।
त्यस्तै पटमुर्खको उपाधि मधेश प्रदेशको अर्थ मन्त्रालयका सचिव शुभाषचन्द्र शिवाकोटी र मुर्ख महामण्डलेश्वरको उपाधि कथाकार प्रेम विदेह ललनलाई प्रदान गरिएको छ ।
त्यसैगरि सदाबहार मुर्खको उपाधि बसहियास्थित गोगल प्रसाद उच्च माविका प्रधानाध्यापक महावीर दास, बैशाखानन्दनको उपाधि अभियानी दिनेश पुर्वे, साहित्यकार नित्यानन्द मण्डललाई खेसारीलाल, जनकपुरधामका दाता परिवार सुभाषचन्द्र साहलाई स्थाई मुर्ख, परवाहास्थित युवा नाट्य परिषदलाई र्निविकल्प मुर्ख र महोत्तरीको पिपरा गाउँपालिकाकी उपप्रमुख बन्दना पाण्डेलाई दिलतोरियाको उपाधि प्रदान गरिएको छ ।
त्यस्तै, हरिप्रियाको उपाधि मिथिला चित्रकार सुधिरा कर्ण, लोहाशंकरको उपाधि मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष हरिशंकर साह, बुरिराजको उपाधि योगगुरु विमल पण्डित, बज्रकिटको उपाधि योगेन्द्र पण्डित र सोटाचन्दको उपाधि अनिकेत रुङ्गटालाई प्रदान गरिएको छ ।
मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं संवर्द्धग गर्ने उद्देश्यले मिनापले विगत २८ वर्षदेखि होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम होली महोत्सव र महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ।
सम्मेलनको इतिहास
महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आएपनि जनकपुरधाममा यसले निकै उचाँइ पाएको छ । तर यसको प्रारम्भ वीरगञ्जबाट भएको हो । मैथिली साहित्य परिषद् वीरगञ्जले पहिलो पटक २०५० सालमा सम्मेलनको आयोजना गरेको थियो । पहिलो पटकको महामूर्ख लाला माधवेन्द्रजीलाई प्रदान गरिएको थियो ।
सम्मेलनको परिकल्पनाकारमध्ये एक रहेका मैथिली साहित्य परिषद्का पूर्वमहासचिव एवं चर्चित पत्रकार चन्द्र किशोर झा भन्छन्, ‘विसं २०४६ सालमा बहुदल आएपछि राजनीतिकरुपमा परिवर्तन भयो । यस परिवर्तनमा समाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरुको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा सम्मेलनको अवधारणा आएको हो ।’
समाजमा रहेको विकृति विसङ्गतिलाई समाप्त गर्न व्यङ्ग्यले निकै ठूलो भूमिका खेल्ने उनको भनाइ छ । वीरगञ्जमा अहिले होरी मिलन समारोह महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । यसप्रकारको सम्मेलन भारतमा पहिले देखिनै हुँदै आएको छ ।
विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, विसं २०६२ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर विसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झालाई प्रदान गरिएको थियो ।
त्यस्तै, २०६५ सालमा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिँघानीयालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।
विसं २०७३ मा सप्तरीको मलेठमा एमालेले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो । त्यस्तै, विसं २०७४ सालमा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र विसं २०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो ।
त्यस्तै विसं २०७६ मा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवम् २०७८ सालमा अर्थविद् डा.भोगेन्द्र झालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो भने २०७९ को महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलाई प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


