मधेशको मन्त्रीपरिषद् पुर्नगठन, स्वतन्त्र जितेका जयसवाल एमालेमा प्रवेश गरि मन्त्री बने

जनकपुरधाम, १० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार पुनः मन्त्रीपरिषद् पुर्नगठन गरेका छन् ।
पुर्नगठित मन्त्रीपरिषदमा मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी शत्रुधन सिंह कोइरी, शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी स्वतन्त्र निर्वाचित भई नेकपा एमालेमा प्रवेश गरेका प्रमोद जयसवाल र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी केशव रायलाई दिएका छन् ।
मुख्यमन्त्री यादवले श्रम तथा यातायात मन्त्रालय आफूसँगै राखेका छन् ।
मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा यसअघि चैत ५ गते नेकपा एमालेका सरोजकुमार यादव नियुक्त भएका थिए ।
शनिबार नियुक्त भएका मधेश प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमबिच पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलको उपस्थितिमा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुबेदी भण्डारीले तीनैजना नवनियुक्त मन्त्री र एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइन।
मधेश सरकारको अर्थमन्त्रीमा जसपाका सञ्जयकुमार यादव, खेलकुद तथा समाज कल्याण मन्त्रीमा जसपाकै सुरिता कुमारी साह, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा जसपाकै सिंगासन सा कलवार, वन तथा वातावरण मन्त्रीमा लोसपाका रमेशप्रसाद कुर्मी, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा नेकपा माओवादी केन्द्रका सुनिता यादव, भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने, ऊर्जा सिँचाई तथा खानेपानी राज्यमन्त्रीमा जसपाका शेख अबु कलाम आजाद र उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका रहबर अन्सारीलाई यथावत् राखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


