जनकपुरको होटेलमा युवतीको मृत्यु, सँगै बसेका दुई युवक फरार

जनकपुरधाम, २९ फागुन । जनकपुरधामको एक होटेलमा एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका बस्ने अन्दाजी ३० वर्षीया खुश्बु सुनार रहेको प्रहरीले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ रामानन्द चोकस्थित होटेल सिटी एण्ड फ्यामली रेष्टुरेन्टमा सोमबार साँझ साथीहरूसँगै आएकी सुनारको मंगलबार बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिएका छन् ।
उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएको डीएसपी अवाले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अवाले घटना शंकास्पद रहेको र युवतीको निधन पनि शंकास्पद देखिएकाले घटनाको अनुसन्धान अगाडि बढाइएको बताए ।
युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र सँगै बसेको भनिएका दुई युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


