जनकपुरधाम, २७ फागुन । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता कुमारी यादवले उपनिषदहरूमा आनन्दको स्थितिलाई नै मोक्षको स्थिति भनिएको बताएकी छन् ।

महाशिवरात्री पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ मोक्षद्वारमा आयोजित शिवपार्वतीको स्वयम्वर एवम् सम्मान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री यादवले आनन्दमा सारा द्वन्द्वहरूको विलय हुने निश्चित रहेको बताइन ।

उनले यो अद्वैतानुभूतिको स्थिति रहेको र यसै जीवनमा यसलाई अनुभव गर्न सकिने जिकिरसमेत गरिन । मन्त्री यादवले प्रेमको स्थान सबैभन्दा माथि रहेको बताउँदै यसले सम्पूर्ण सृष्टि माथि जीत हासिल गर्न सकिने धारणासमेत राखेकी थिइन् ।

कार्यक्रममा सहभागीहरूले मोक्षद्वारका संरक्षक आदित्य ठाकुर जस्ता युवाहरू समाजको भविष्य रहेको भन्दै प्रशंसा गरेका थिए । उनीजस्ता युवा पुस्ताले समाजको वर्तमान स्थितिलाई नवीकरण, ताजा र कायम राख्ने भूमिका खेल्न सक्ने सहभागीहरूको भनाइ थियो ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले भने, “जब युवाहरुले सामाजिक समस्याहरु समाधान गर्न आफ्नो विचार र उर्जाले योगदान गर्छन, तब उनीहरु एक सक्षम व्यक्तित्व बन्न सक्छन् । साथै उनीहरुले आफ्नो मात्र नभएर अरुको जीवनमा पनि सकारात्मक प्रभाव पार्न सक्छन् ।”

त्यस्तै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका उपाध्यक्ष ज्योति झाले भनिन्, “युवाले सजिलोको अपेक्षा गर्न हुँदैन् । सजिलो बाटोबाट सधै बिकास पनि हुँदैन् । युवाहरुले सबैभन्दा महत्वपूर्ण ध्यान दिनुपर्ने कुरा भनेको समयको महत्व बुझ्नुपर्ने हुन्छ । युवामा आदित्य जस्तै लक्ष्य हुनुपर्छ र त्यो लक्ष्य पूरा गर्न र त्यसलाई पूर्णता दिनका लागि काम गर्नुपर्ने हुन्छ ।”

कार्यक्रममा पूर्वराज्यमन्त्री योगेन्द्र राय यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, उपाध्यक्ष अम्भु प्रसाद साह, पूर्ववडाध्यक्ष रमेश ठाकुर, जसपाका नेता बलराम महतो, जनक छात्रावासका अध्यक्ष कृष्ण दिक्षित, मुजेलिया प्रहरी चौकीका इन्चार्ज राजेश सिंह, भिजिट जनकपुरको प्रचारप्रसार संयोजक दिपक गुप्ता, पत्रकार किरण कर्ण, माला राय, चांदनी झा, स्मृति मिश्रा, सरसफाइ अभियानी रुवी झा, समाजसेवी ललिता लाभ, रूपा कर्णलगायतकाहरूको उपस्थिति रहेको थियो ।