जनकपुर आउँदै गरेको रेलमा एकजना यात्रुको मृत्यु

जनकपुरधाम, २ माघ । महोत्तरीको विजलपुराबाट जनकपुर आउँदै गरेको रेलमा सवार एकजना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहरपट्टी नगरपालिका–४ खुट्टा पिपराढीको अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेका छन् ।
बिहान रेलमा सवार पण्डितको जनकपुर आउनेक्रममा रेलको बोगीभित्रै मृत्यु भएको हो । बोगीमै सवार अन्य यात्रुका अनुसार टिटिले टिकट दिन भनेपछि उनी टिकट निकाल्ने बेला सिटमै ढलेका थिए ।
मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । रिपोर्ट आएपछि मृत्युको कारण प्रष्ट हुने धनुषा प्रहरीले जनाएको छ ।