ब्लड फर निडद्वारा जनकपुरधामका विभिन्न चोकहरुमा धुनी बालियो

जनकपुरधाम, २८ पुस । अत्यधिक जाडो बढेर जनजीवन कष्टकर बनेपनि जनकपुरधाम उपमहानगरपालिकाले दाउरा वितरणमा कुनै चासो नदेखाइरहेका बेला रगतको व्यवस्थापन गर्ने समूह ब्लड फर निड (आवश्यकतामा रगतंं) द्वारा जनकपुरधामका विभिन्न चोकहरुमा धुनी बालिएको छ ।
ब्लड फर निड (आवश्यकतामा रगतंं) समूहमा आवद्ध युवाहरुले नेपाली कांग्रेसका युवा नेता सुनिल कुमार झा (मिन्टन) को सहयोगमा नगरका मुख्य सबै चोकमा दाउरा बालेको हो ।
लगातार जाडो बढेपछि जनजीवन अत्यन्त कष्टकर बन्दै गएको अवस्थालाई दृष्टिगत गरी नगरभित्रका रामानन्द चोक, प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जानकी चोक, जनक चोक, भानु चोक, रेल्वे स्टेशन, कदम चोकलगायतका स्थानहरुमा दाउरा बालिएको हो ।
पश्चिमबाट अत्यन्त चिसो हावा चलेर जनजीवनलाई अत्यन्त प्रभावित बनाएको छ । बाक्लो कुहिरो, दिनभर चलेको हावा तथा घाम नलागेका कारण जाडो बढेको महसुस गरिएको हो । अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाट बाहिर निस्कन डराइरहेका छन् । सबैभन्दा कठिन बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामी र सुत्केरीलाई भएको देखिएको छ । पशुपालक किसानलाई पनि जाडोले निकै अप्ठेरो पारेको छ ।
अत्यधिक जाडोले बजारमा चहपहल नै कम हुन थालेको र सर्वसाधारणलाई हिँडडुल गर्न समेत कठिनाई भएकोले जनकपुरधामका मुख्य चोक तथा बजारमा दाउराको व्यवस्था गरिएको आवश्यकतामा रगत समूह धनुषाका संयोजक बलराम प्रसाद गुप्ताले जानकारी दिए । यहाँका सर्वसाधारण तथा नियमित डिउटी गर्नुपर्ने सुरक्षाकर्मीलाई पनि केही सजिलोको लागि दाउरा व्यवस्थापन गरी जाडोबाट राहत दिन खोजिएको गुप्ताको भनाइ छ ।
उनले सडकमा अति आवश्यक कामका लागि हिंडडुल गर्ने र बाहिरबाट आउने पर्यटकहरुका लागि चिसोमा न्यानोको अनुभूति दिने उदेश्यले जनकपुरधामको मुख्यमुख्य चोकमा दाउरा बालिएको बताए ।