बरहथवा घटनाप्रति तमलोपाको आक्रोश

जनकपुरधाम, २३ पुस । तराई(मधेश लोकतान्त्रिक पार्टीले सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय युवक जयशंकर साहको हत्या र बिरोध प्रदर्शनमा प्रहरी दमनप्रति कडा आक्रोश व्यक्त गरेको छ ।
बरहथवा(६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शनलाई दमन गर्ने क्रममा गोली लागेर जयशंकर साहको मृत्यु भएको थियो । त्यसपछि त्यसको विरोधमा जनता उत्रिएपछि जिल्ला प्रशासनको निर्देशनमा प्रहरीले पुनः आक्रमण गरेको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।
तमलोपाका केन्द्रीय सदस्य र प्रचार विभाग प्रमुख उमेश कुमार मण्डलले बरहथवा हत्याकाण्डमा प्रहरीको गल्ती रहेको दाबी गरे ।
उनले मधेशमा अस्पताल, स्कूल केही माग्दा प्रहरी, प्रशासन र सरकारको दबाउने दमन गर्ने नीयत नै रहेको जिकिर गरे । धौंस र हाकिमी जमाउन बल प्रयोग र हत्यासम्म गर्ने अनि सत्य तथ्य लुकाउने राज्यको नीतिमा कुनै परिवर्त्तन नआएको उनको भनाइ छ ।
तमलोपाको तर्फबाट बरहथवा काण्डबारे धारणा राख्दै मण्डलले भने,‘ काँग्रेस, माओवादी र सत्ता गठबन्धनमा शामिल जसपा, लोसपा, नाउपा, जनमत सबै एकै मानसिकताका देखिए । हत्यापछिको बिरोध दबाउन जसरी लज्जास्पद दमन भयो त्यसका निमित्त वर्त्तमान सरकारमा शामिल सबै त्यत्तिकै दोषी छन् । यसले प्रधानमन्त्री र गृहमन्त्रीको दमनात्मक रवैयाको परिचय दिन्छ ।‘