जनकपुरधामबाट भारयात्रा अयोध्याका लागि प्रस्थान

जनकपुरधाम, १९ पुस । भारतको अयोध्यामा भगवान रामको नवनीर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट भारयात्रा अयोध्याका लागि प्रस्थान गरेको छ ।
जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजित एक कार्यक्रमका बिच जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र मधेस सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विदाई गरेपछि भारयात्रा भारतको अयोध्याका लागि प्रस्थान गरेको हो ।
आज राती भार यात्रा वीरगञ्जमा विश्राम गर्नेछ भने जनवरी ५ तारिखमा सो भारयात्रा अयोध्या पुग्नेछ । अयोध्या पुगेको भोलीपल्ट भारयात्रामा लगिएका पाहुर अयोध्यास्थित रामजन्मभूमि तिर्थ क्षेत्र ट्रष्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ एवं भार यात्राका संयोजक रामरोशन दास वैष्णवले जानकारी दिए । यता भारयात्रालाई विदाई गर्दै मधेसका मुख्यमन्त्री यादवले आफ्नै कार्यकालमा भगवान रामको नवनिर्मित मन्दिर र माता सीताको ससुरालीमा घरवासको भार पठाउन पाउँदा गौरवान्वित महशुस भइरहेको बताए ।

पाहुरमा विभिन्न प्रकारका कपडा, आभुषण, भाडावर्तनका साथै विभिन्न मिठाई तथा पकवानहरु रहेका छन् । यसका साथै भगवान रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुका लगायतका गरगहना समेत पाहुरमा राखिएको छ । भारयात्रामा सहभागी जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले भगवान रामको घर अर्थात हामीहरुको चेली माता सीताको नवनीर्मित घरमा गृहप्रवेश कार्यक्रममा यहाँबाट कोसेली लिएर जान पाउँदा जनकपुरधामवासी मात्रै नभई सम्पूर्ण मिथिलावासी गदगद रहेको बताए ।
जनकपुरधामबाट निस्केको भारयात्रा महोत्तरीको जलेश्वरस्थित हुलाकी सडक हुँदै मलंगवा पुग्ने कार्यक्रम रहेको छ । मलंगवाबाट बारास्थित गढीमाइ दर्शनपछि वीरगञ्जमा रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ । वीरगञ्जमा वास बसेको भोलीपल्ट निस्किने भारयात्रा भारतको बेतिया, कुशी नगर, सिद्धार्थ नगर, गोरखपुर हुँदै अयोध्या पुग्नेछ ।

जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको पाण प्रतिष्ठा हुने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


