अरूको बैंक खाताबाट रकम चोरी गर्ने गिरोहका ३ जना पक्राउ

रौतहट, १३ पुस । रौतहट प्रहरीले अरूको बैंक खाताबाट रकम चोरी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका–४ का २५ वर्षीय जितेन्द्र गिरी , वडा नम्बर–७ का ३७ वर्षीय दीपेन्द्रकुमार साह र गुजरा नगरपालिकाका–६ घर भई हाल चन्द्रपुर नगरपालिका–१० बस्ने ४२ वर्षीय राजकुमार साह रहेका छन् ।
उनीहरूले चारजनाको बैंक खाताबाट २४ लाख भन्दा बढी रुपैयाँ चोरेको अनुसन्धानबाट खुलेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । उनीहरूमाथि ठगी तथा किर्ते लगायतका मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको एसपी श्रेष्ठले बताए ।
गौर–४ बस्ने जयप्रकाश राय चनौको एनआईसी एसिया र माछापुच्छ्रे बैंकको खाताबाट गत असार २९ गतेदेखि पटक पटक गरी जम्मा १२ लाख ४६ हजार ४४० रुपैयाँ झिकेका छन् । गौर–७ बस्ने मिस्रीलाल साहको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट गत असार २० गतेयता पटक–पटक गरी जम्मा ५ लाख रुपैयाँ, गौर–२ महादेवपट्टी वस्ने विजय किशोर झाको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट गत कार्तिक २९ गते ८० हजार, चन्द्रपुर–९ बस्ने कृष्ण प्रसाद तिमल्सिनाको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुरमा रहेको खाताबाट गत कार्तिक ३० गतेयता पटक पटक गरी जम्मा ६ लाख ११ हजार २०८ रुपैयाँ गरी कुल २४ लाख ३७ हजार ६८५ रुपैयाँ चोरिएको प्रहरीले जनाएको छ ।
विभिन्न काल्पनिक व्यक्तिको नाममा सीमावर्ती भारत बिहारको घोडासहनमा गई किर्ते नक्कली नागरिकता तथा सवारी चालक अनुमति पत्र बनाई उक्त कागजातहरूबाट सिमकार्डहरु निकाली विभिन्न बैंकहरुमा खाता खोली मोबाइल बैंकिङ्ग मार्फत पीडितहरूको खातामा अनधिकृत रूपमा पहुँच पुयाई रकम चोरी गरेको घटनाको अनुसन्धानबाट पुष्टि भएको रौतहट प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
पक्राउ परेका तीनैजनालाई अनुसन्धान पश्चात् प्रतिवेदन सहितको मिसिल जिल्ला सरकारी वकिल कार्यालय रौतहटमा पेस गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न थप २ जना फरार रहेकाले उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


