जनकपुरधाम, ३ पुस । जनकपुरधामको प्रसिद्ध रामानन्द युवा क्लवले तीन दिवसिय कार्यक्रमको आयोजना गरि आफ्नो ३८औं वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सव मनाउने क्रममा क्लवले आज पहिलो दिन जनकपुरधामको रामानन्दचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

क्लवका कार्यकारिणी सदस्य एवम् रक्तदान कार्यक्रमका संयोजक रुपेश रोशन सिंह ‘मुन्ना’ले कार्यक्रममा स्थानिय, युवा, व्यापारी र युवा अगुवाहरु गरी कुल ५६ जनाले रक्तदान गरेको जानकारी दिएका छन् ।

तीन दिवसीय कार्यक्रमको दोस्रो दिन बुधबार जनकपुरधामस्थित बृद्धाआश्रममा फलफुल तथा न्यानो लत्ता कपडा वितरणको कार्यक्रम रहेको छ भने तेस्रो दिन बिहीबार क्लवको भवनमा पुरस्कार एवं प्रमाणपत्र वितरण कार्यक्रम रहेको क्लवका अध्यक्ष शशिभूषण झा ‘आशुतोष’ ले जानकारी दिए ।

नेकपा एमालेका केन्द्रिय सचिव रघुवीर महासेठको प्रमुख आतिथ्यमा हुने वार्षिकोत्सव समारोहका बिच विद्यापती पुरस्कार र श्री सरस्वती राजनारायण कला पुरस्कारलगायतका पुरस्कारहरुसमेत वितरण गरिने क्लवले जनाएको छ ।

वार्षिकोत्सवको पहिलो दिन आयोजित रक्तदान कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र ठाकुर, क्लवका पूर्वअध्यक्ष जिवनाथ चौधरी, उपाध्यक्ष संतोषमान सिंह, महासचिव रोशन मिश्र, वडा नम्बर–४ का सदस्य प्रसन्न झा, रोशनी सिंहलगायतकाहरुको सहभागिता रहेको थियो ।