जनकपुरधाम, ३ पुस । धार्मिकनगरि जनकपुरधाममा यसवर्षको विवाहपञ्चमी मेला लाखौं तीर्थयात्रीले भरिभराउ देखियो । यसवर्ष करिब ५ लाख तीर्थयात्रीले मेला भरेका हुन् ।

मेला घुम्न आएका तीर्थयात्रीका लागि बासको व्यवस्थापनमा जनकपुरधामका निजी विद्यालयहरुले दिल खोलेर सहयोग गरेका छन् ।यहाँस्थित सयौं निजी विद्यालयहरु दुई दिन पहिलेदेखि नै तीर्थयात्रीका लागि बासको व्यवस्थापनमा जुटेको देखिएको थियो ।

निजी विद्यालयहरुको छाता संगठन प्याबसन तथा एनप्याबसनमा आबद्ध विद्यालयहरुले आ–आफ्नो विद्यालयका प्रायः सबै कक्षाकोठाहरु तीर्थयात्रीलाई बास बस्नका लागि उपलब्ध गराएका थिए ।

एनप्याबसन जनकपुरधामका नगर अध्यक्ष दिपक ठाकुरले भने, ‘केही वर्षअघिसम्म मेलाको दिन मात्रै तीर्थयात्री आउने गरेकोमा पछिल्लो समय दुई दिनअघि देखि नै उनीहरु जनकपुरधाम आउने गरेका छन् । तर, यहाँ बासको उचित व्यवस्थापन नहुँदा उनीहरु खिन्न भएको देखिन्थ्यो । हामीले सोही अवस्थालाई दृष्टिगत गर्दै आ–आफ्नो सामाजिक दायित्व ठानेर करिव १८ हजार तीर्थयात्रीको बास, भोजन र शौचालयको प्रवन्ध मिलाएका थियौं ।’

उनले यस कार्यमा जनकपुरधामका एकाधबाहेक प्रायः सम्पूर्ण निजी विद्यालयहरुले सहयोग गरेको जानकारी दिए ।

जानकी माताको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउनुका साथै आफूले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनी लाखौं भक्तजनहरू यहाँ आउने गर्दछन् ।

पवित्र धार्मिक तीर्थस्थल जनकपुरधाममा विवाहपञ्चमीका बेला प्रत्येक वर्ष लाखौं तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् ।