जनकपुरधाम, ३ पुस । भारतको अयोध्यामा निर्मित श्रीराम मन्दिरमा नेपालबाट जल लगेर जलाभिषेक गरिने भएको छ । नेपालको मेचीदेखि महाकालीसम्मको पवित्र नदीहरुबाट जल संकलन गरेर श्रीराम मन्दिरमा जलाभिषेक गरिने भएको हो ।

गहवामाई रथयात्रा समिति वीरगञ्ज र विश्व हिन्दु परिषद् नेपालले आगामी २२ जनवरीका दिन अयोध्यामा हुनलागेको नवनिर्मित श्रीराम मन्दिरको प्राणप्रतिष्ठाका लागि नेपालबाट जल संकलन गरेर लग्न लागेको गहवामाई रथयात्रा समितिका उपाध्यक्ष देवानन्द प्रसाद कलवारले जानकारी दिएका छन् ।

पुस १० गते वीरगञ्जबाट रथयात्रासहित जनकपुरधाम आउने टोली ११ गते बिहान जानकी मन्दिरमा विधिवत पूजापाठ गरेर यात्रा प्रारम्भ गर्ने उनले बताए । सो यात्रा वीरगञ्ज, रक्सौल, गोरखपुर हुँदै २९ तारिकका दिन अयोध्या जाने र ३० तारिकका दिन जल हस्तान्तरण गरिने जानकारी दिएका छन् ।