जनकपुरधामका अधिकांश स्थानमा ‘चोते चोत’

जनकपुरधाम, ३ पुस । सोमबार रामकलेवा विधिसँगै सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएपछि जनकपुरधाम खाली भएको छ । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन दुई दिनअघि जनकपुरधाम आएका आन्तरिक तथा बाह्य पर्यटकहरु आ–आफ्नो घर फर्केसँगै जनकपुरधाममा भीडभाड कम भएको छ ।
तर, विवाहपञ्चमी सम्पन्न भएपछि जनकपुरधामको मुख्य बजार र मुख्य सडकमा थुप्रिएको फोहोरले यहाँको अवस्था धेरै दुर्गन्धित बनेको छ । जनकपुरधाम मधेश प्रदेशको केन्द्र रहेपनि सरसफाइको कमीले यो शहर फोहोरको राजधानी समेत रहेकोे स्थानीयको गुनासो छ ।
विवाहपञ्चमीमा लाखौं दर्शनाथीहरु सहभागी भएपनि त्यसको उचित व्यवस्थापन नहुँदा अहिले उपमहानगरका धेरै ठाउँमा जताततै फोहरै फोहर देखिन्छ । ‘सुन्दर, शान्त, सफा जनकपुरधाम’ नारा आ–आफ्नो चुनावी एजेण्डामा प्रयोग गर्न पछि नहट्ने र अभियान चलाउने केही स्थानीय नेताको सो नारा पानामै सिमित भएको पाइन्छ । विवाहपञ्चमी समाप्त भइसक्दासमेत समयमै फोहर नउठेपछि जनकपुरधाम दुर्गन्धित देखिएको छ ।
नगर क्षेत्रभित्र सार्वजनिक शौचालयको अभाव रहेकोले विवाहपञ्चमी मेला घुम्न आएका दर्शनार्थीले यहाँका अधिकांश खाली स्थान र पोखरी किनारहरुमा दिशापिसाब गर्दा शहर दुर्गन्धित बनेको हो । नगर क्षेत्रको विकासका लागि बर्षेनी आउने अर्बौं रुपैयाँ नगरको विकासमा नभएर राजनीतिक भागबन्डामा सकिने भएकाले विकासले गति लिन नसकेको नगरवासीको आरोप छ ।
स्थानीय युवा सुशील कर्णले अंगराज सरको चारैतिरको घाटमा दिशापिसाब गरिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन्,‘अन्नपछि मलको पनि रेकर्ड ।’ उनले रंगभूमी मैदानमा करिव २५ लाखको लागतमा अन्नको प्रयोग गरेर बनाइएको प्रतिमालाई विश्वरेकर्डमा समावेश गरिने कामप्रति कटाक्ष गर्दै यस्तो लेखेका हुन् । कर्णले सो रकममा नगरका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न सकिने बताए ।
सोही तस्बिरलाई सामाजिक सञ्जालमा पोष्ट गर्दै स्थानीय युवा अखिल मढिले लेखेका छन्,‘विवाहपञ्चमीका बेला जहाँ खाना, औषधि, खाजा इत्यादी मुफ्त बाँटिरहेको सबैले देख्न सकिन्थ्यो । तर, शौचालय धेरैले कतै पाएनन् । जसको परिणाम तस्बिरमा आफैं देख्न सकिन्छ । सुलभ शौचालय पोखरीको घाटलाई बनाइएको छ । यो पनि एउटा विश्वरेकर्ड नै हो ।’
स्थानीय गुड्डु पाण्डेले पनि विवाहपञ्चमीको कमजोर व्यवस्थापनमाथि कटाक्ष गर्दै भनेका छन्,‘विवाहपञ्चमी मेला सकिएको छ । जनकपुरधाममा प्रत्येक वर्ष हुने विवाह महोत्सव मधेश प्रदेशकै सबैभन्दा ठूलो धार्मिक महोत्सव हो । तसर्थ यसलाई व्यवस्थित गर्न आजैदेखि भिड्न जरुरी छ । अब ३५९ दिन मात्रै बाँकी छ । मधेश सरकार, स्थानीय सरकार, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्लगायत जनकपुरधामको सम्पूर्ण संघसंस्थाहरु स्टेजमा गएर भाषण गर्ने, चुनरी ओढ्ने र धार्मिक कार्यक्रमलाई पार्टीको कार्यक्रम बनाउनेहरु सबैसँग आग्रह र अनुरोध छ कि आजैबाट भिड्नुस र लाग्नुस अनि मात्र विवाहपञ्चमीलाई व्यवस्थि तगर्न सकिन्छ । होइन भने फेरि अर्को साल १५ दिन पहिलेदेखि झुटफुसको नाटक गरेर विवाहपञ्चमीलाई अस्तव्यस्त नगर्नुहोला । थोरै लज्जाबोध गरेर आजैबाट इमान्दारीपूर्वक सबैजना भिड्ने हो भने मात्रै अर्को वर्ष हुने विवाहपञ्चमीलाई व्यवस्थित र राम्रो गर्न सकिन्छ ।’
त्यस्तै, स्थानीय युवा नेता सरोज मिश्रले सामाजिक सञ्जालमा कटाक्षपूर्ण प्रश्न गर्दै लेखेका छन्,‘ विवाहपञ्चमी पनि समाप्त भयो । अब इ–रिक्सा, टेम्पु भाइरस व्यवस्थापनतर्फ गम्भीरतापूर्वक लाग्ने कि कुनै नयाँ बहाना तयार छ ?’
राजनीतिक खिचातानीले जनकपुरधामको फोहोर व्यवस्थापन काम हालसम्म भएको छैन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


