जनकपुरधाम, २ पुस । सप्ताहव्यापी कार्यक्रमको आयोजनासँगै यसवर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । सोमबार रामकलेवा विधि भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।

आइतबार राति वैदिक परम्परा अनुसार प्रतिकात्मक भगवान राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि गरिएको छ । जसअन्तर्गत भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई ५६ प्रकारका व्यञ्जनसहित भोजन ग्रहण गराई दक्षिणा दिएर बिदाइ गरिएको छ ।

जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले रामकलेवाअन्तर्गत आज सयौं साधुसन्तलाई ५६ व्यञ्जनको भोजन गराइएको जानकारी दिए । उनकाअनुसार मिथिला भोजनमा दाल, भात, चार प्रकारका तरकारी, दही, बरी, अचार, मिठाईसहितका व्यञ्जन समावेश गरिएको थियो ।

साधुसन्तलाई कम्बल, दोसल्ला र नगद दक्षिणासमेत दिइएको सहायक महन्थ दासले जानकारी दिए । उनले भने, ‘जन्तीलाई विशेष भोजन र दान दक्षिणा दिएर बिदाइ गर्ने चलन छ । आज त्यो चलनलाई निरन्तरता दिएका छौँ । दुई सय देखि पाँच सयसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेका हौँ ।’

एक सातादेखि विवाहपञ्चमीको लागि भरिभराउ जनकपुरधाम गएराति सीताराम विवाह सम्पन्न भएलगत्तै श्रद्धालु भक्तजन फर्किन थालेका छन् ।

विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौँथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैँटौँ दिन स्वयंवर र राति वैवाहिक कार्यक्रम तथा अन्तिम दिन आज सोमबार रामकलेवा विधि गरी महोत्सव सम्पन्न भएको हो ।