सीता बहिन पाहुन राम जनकपुरमे…

-ज्योति झा
जनकपुरधाम, २ पुस । मिथिलाञ्चल पर्व त्योहारको मामिलामा असाध्यै धनि छ । हरेक पर्व त्योहारको पछाडि कारण र कहानी छ । हाम्रो मिथिला संस्कृतिमा सोह्र संस्कार हुन्छ । जसमा विवाह पनि एउटा संस्कार हो । विवाह अर्थात स्त्री र पुरुषको बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक वा सामाजिक कर्मलाई बुझिन्छ । श्रीमान श्रीमतीको रगतको नाता त हुँदैन तर त्यो भन्दा पनि अहम, प्रिय, अमूल्यवान हुन्छ ।
विवाह यदी एउटा बन्धन हो भने यो एउटा सम्झौता पनि हो । र, यसमा समझदारी एवम् प्रेम भयाे भने यसले जीवन सहज बनाउँछ । जस्तै गाडी चलाउन दुई पाङ्ग्रा चाहिन्छ ठिक त्यस्तै विवाहपश्चात् श्रीमान श्रीमतीलाई पनि गाड़ीको दुई पाङ्ग्राको संज्ञा दिइन्छ । एक विना अर्काको अस्तित्व हुँदैन । त्रेतायुगमा जनककी पुत्री सीता र दशरथका पुत्र रामबीच विवाह भएको थियाे । पति राम वनवास जाँदा सीता पनि उनीसँगै वनवास गएकी थिइन ।
माया ममताले राजपरिवारमा हुर्केकी सीता जंगलमा पतिसँगै हरेक पाइलामा दुःख सुखको सहयात्री बनिन् । त्यही भएर त उनलाई आदर्श नारीको संज्ञा दिइएको छ । सायद उनीहरूबीचको यस सम्बन्धले नै होला कि विवाहले मनुष्यको जीवनमासमेत समर्पण, साथको शिक्षा दिइरहेको छ । मर्यादा पुरुषोतम राम जो राजा भएर पनि पत्नीसँग टाढा भई अर्को बिहे गरेनन् । आफ्नो प्रजाका कारण पत्नी देखि टाढा बसे । रामायणले पत्नीको महत्व कति हुन्छ भन्ने पनि झल्काएको छ । रामले जीवनमा सीताबाहेक कसैसँग विवाह गरेनन् । सीतालाई जंगलमा छाडेपछि भएको अश्वमेध यज्ञ पत्नीको अभावमा पूरा हुन नसक्ने भएका कारण रामले सीताको प्रतिमा बनाएर यज्ञ पूरा गरे । यो बुझ्नेका लागि ठूलै सिख हो, नबुझ्ने लाई त के नै भन्न सकिन्छ र..!
विवाहपञ्चमीमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिन्छ । श्री रामजानकी विवाहपञ्चमी महोत्सव मंगलबारदेखि विधिवत रुपमा सुरु भयो । विवाहपञ्चमी महोत्सवको पहिलो दिन ‘नगरदर्शन’ गराइन्छ । नगरदर्शनमा राम–लक्ष्मणको प्रतीकको रुपमा एक जोडी बालकलाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइन्छ । त्रेतायुगमा श्रीराम र लक्ष्मण गुरु विश्वामित्रसँग मिथिलाधाम घुम्न आउँदा नगर भ्रमण गरेको स्मरणमा नगरदर्शन गरिने गरिन्छ । राम र लक्ष्मणको चरित्र धारण गरेका बालकहरूलाई नगरदर्शनमा कृतिम नगरको परिकल्पना गरी भगवान् राम र लक्ष्मण सबैको द्वारद्वार (घरघर) मा जाने परम्परा अनुसार घरघरमा जान्छन्।
दोस्रो दिन हुन्छ फूलबारी लिला । फूलबारी लिलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने गरिन्छ । यसमा राम र लक्ष्मण एवम् जानकी स्वरुप बनाइएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ । त्रेतायुगमा गुरु विश्वामित्रसहित धनुष यज्ञमा अयोध्यबाट मिथिलाको राजधानी जनकपुरधाममा सहभागी हुन आएका राम र लक्ष्मण फुलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती छ । जहाँ राम र जानकी एक अर्काप्रति आकिर्षत भएको र जानकीले आफूलाई राम जस्तै बर पाउन कामना गरेको मान्यता छ ।
सप्ताहव्यापी वैवाहिक कार्यक्रम अन्तर्गत तेस्रो दिन धनुषयज्ञ गरिन्छ । त्रेतायुगमा राजा जनक आफ्नो दरबारमा रहेको पिनाक नामक धनुषमा प्रत्यञ्चा चढाउने विर राजकुमारसँग मात्र आफ्नी छोरीको विवाह गर्ने उद्घोष गरेका थिए । छोरी सीताका लागि एक विर योद्वा राजकुमार चयन गर्न राजर्षि राजा जनकले आयोजना गरेको धनुष यज्ञमा सहभागी भएका अयोध्याका राजकुमार श्री राम प्रत्यञ्चा चढाउन सफल भएको र सो धनुष तीन टुकड़ा भएको जनविश्वास छ । यसै घटनालाई प्रतिकात्मक रूपमा कुनै वर्ष जनकपुरधामको बाह्रबिघा मैदान र कुनै वर्ष जानकी मन्दिर प्राङ्गणमा देखाउने गरिन्छ । यस वर्ष जानकी मन्दिर प्राङ्गणमै आयोजित धनुष यज्ञमा भगवान रामका स्वरूप धारण गरेका श्रीराम प्रत्यञ्चा चढाएका थिए ।
चौथो दिन तिलकोत्सवको आयोजना गरिन्छ । यस अवसरमा यसवर्ष जानकी मन्दिरबाट ‘पाहुर’ लिएर जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास राम मन्दिर पुगेका थिए। तिलकोत्सवको अवसरमा जानकी मन्दिरका सहायक महन्थ दास र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राम मन्दिरका महन्थ राम गिरीले ‘सम्धी मिलन’ गरि अंकमाल गरेका थिए । अंकमाल गर्ने कार्यलाई यहाँ ‘सम्धी मिलन’ भनिन्छ। सो अवसरमा दुवै पक्षबीच हासपरिहासका कार्यक्रमसमेत भएको थियो। तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकारलगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरु राम मन्दिरको प्राङ्गणमा आई तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए।
पाँचौ दिन मटकोर । जानकी मन्दिरबाट बाजागाजासहित महिलाहरु जनकपुरधामको ऐतिहासिक गंगासागरमा पुगि विहेको बेदी बनाउनका लागि माटो ल्याउँछन । महिलाहरु माटो बोकेर नगर परिक्रमा समेत गर्छन । मटकोरको क्रममा गंगासागरको डीलमा भजनकिर्तनको कार्यक्रम समेत राखिएको थियो । जानकीको प्रतिकको रुपमा रहेकी बालिकालाई लिएर बाजागाजासहित जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास गंगासागर पुगेका थिए । वैदिक मन्त्र उच्चारण गरि विधिपुर्वक जानकी मन्दिरमा भित्रयाइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ ।
विवाहपञ्चमी महोत्सवको सबैभन्दा महत्त्वपूर्ण र मुख्य दिन हो स्वयम्बर एवम् वैवाहिक कार्यक्रम । जसलाई हेर्न जनकपुरधाममा लाखौंको संख्यामा आन्तरिक एवम् बाह्य पर्यटकको भीड लाग्ने गर्दछ । वैवाहिक कार्यक्रमअघि जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेर स्वयम्बर विधि सम्पन्न गरिन्छ । राम मन्दिरको डोला मन्दिरका महन्त राम गिरीको नेतृत्वमा दर्जनौँ सवारी साधन र बाजागाजाका साथ निस्कन्छ भने जानकी मन्दिरको डोलाको नेतृत्व महन्त रामतपेश्वर दास वैष्णवले गर्छन ।
रंगभूमी मैदान पुगेका अन्य मन्दिरहरूको डोलासँगै भगवान रामको डोलाले माता सीताको डोलालाई परिक्रमा गरेपछि रामजानकीको स्वयम्बर सम्पन्न भएको मानिन्छ ।
रंगभूमि मैदानमा स्वयम्बरपश्चात माता जानकी र भगवान रामको डोलालाई बाजागाजा र झाँकी किर्तनसहित नगर परिक्रमा गराइन्छ । नगर परिक्रमा गर्दा जनकपुरधामका हरेक चोक भरिभराउ देखिन्छ । नगर परिक्रमा गरेपछि डोलालाई आ-आफ्नो स्थानमा राखेसँगै सोही साँझदेखि जानकी मन्दिरको प्राङ्गणमा बनाइएको आकर्षक मडबामा सुरू हुन्छ वैवाहिक कार्यक्रम ।
वैवाहिक कार्यक्रम आयोजना भइरहँदा त्यहाँको रौनकता नै बेग्लै देखिन्छ । हाम्रो समाजमा छोरीको विवाहका बेला जन्तीमा सहभागी भएकाहरूलाई जसरी हँसिठट्टा गरिन्छ ठिक त्यसै प्रकारले यहाँ पनि हास्यव्यङ्ग गरिन्छ । माहोल नै आनन्दित देखिन्छ ।
जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मडवामा करिव ३/४ घण्टासम्म वैवाहिक कार्यक्रम संचालन भइरहन्छ । एक सातासम्म मनाईने विवाहपञ्चमी महोत्सव अन्तर्गत छठौँ दिन सीतारामको वैवाहिक कार्यक्रमको भव्य आयोजन गरिन्छ । वैवाहिक कार्यक्रम हेर्न जानकी मन्दिरको प्राङ्गणमा हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भिड लागेको हुन्छ ।
महोत्सवको सातौं एवम् अम्तिम दिनमा रामकलेवा विधि अर्थात जन्तीको बिदाई गरिन्छ । यस विधिमा मन्दिर प्राङ्गणमा बनाइएको मडबामै भगवान राम, लक्ष्मण, भरत र सत्रुधनको प्रतिकात्मक स्वरूपहरूसँगै जन्तीको रूपमा सहभागी भएका साधुसन्तहरूलाई ५६ व्यन्जन भोजन ग्रहण गराइ दक्षिणा र वस्त्र दान गरि बिदाई गरिन्छ । यसरी सम्पन्न हुन्छ यो सप्ताहव्यापी महामहोत्सव ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


