जनकपुरधाम, १ पुस । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज भगवान रामजानकीको स्वयम्बर सम्पन्न भएको छ ।जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेर स्वयम्बर विधि सम्पन्न भएको हो ।

राम मन्दिरको डोला मन्दिरका महन्त राम गिरीको नेतृत्वमा दर्जनौँ सवारी साधन र बाजागाजाका साथ निस्केको थियो भने जानकी मन्दिरको डोलाको नेतृत्व महन्त रामतपेश्वर दास वैष्णवले गरेका थिए ।

रंगभूमी मैदान पुगेका अन्य मन्दिरहरुको डोलासँगै भगवान रामको डोलाले माता सीताको डोलालाई परिक्रमा गरेपछि रामजानकीको स्वयम्बर सम्पन्न भएको छ । जानकी मन्दिर परिसरमै राति रामजानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृति अनुसार सम्पन्न हुनेछ ।

वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्त राम गिरीले रामका बुबा अर्थात् राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्त सहायक महन्थ रामरोशन दास सीताको बुवा अर्थात् राजा जनकको भूमिका निर्वाह गर्ने छन् । वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरलाई दुलही झैं श्रृङगारिएको छ ।

त्यस्तै वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिर परिसरमै मण्डप समेत बनाइएको छ । यस मण्डपमा रामजानकीको वैवाहिक कार्यक्रम हुनेछ ।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मनाइने यस महोत्सवको अवसरमा यसपटक जनकपुरधाममा चहलपहल देखिएको छ ।

फोटोफिचर :